

पश्चिम नवलपरासीमा देवरले भाउजूको हत्या गरेका छन्। जिल्लाको रामग्राम– १० मन्झरियमा जग्गाको लेनदेनसम्बन्धी विषयलाई लिएर विवाद हुँदा देवरले मोटरसाइकलको सकरले टाउकोमा प्रहार गरी भाउजूको हत्या गरेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी भोजराज पाण्डेयका अनुसार रामग्राम नगरपालिका– १० बस्ने २६ वर्षकी मीरा चौधरीलाई देवर चन्दन चौधरीले मोटरसाइकलको सकरले टाउकोमा प्रहार गरी हत्या गरेका हुन्। चन्दनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। हत्या गरिएकी मीराका श्रीमान तेजनारायण वैदेशिक रोजगारीमा रहेका बताइएको छ।
टाउकोमा गहिरो चोट लागेकी मीरालाई पृथ्वीचन्द्र अस्पताल हुँदै मेडिकल कलेज भैरहवामा उपचारको क्रममा डाक्टरले मृत घोषणा गरेका थिए। अहिले मृतकको शव परासीमा ल्याई शवगृहमा राखिएको प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक किशोर आचार्यसहितको टोली अनुसन्धानका लागि गएको थियो। घटनाको विषयमा प्रारम्भिक अनुसन्धान पूरा गरी थप अनुसन्धानका लागि जिल्ला अदालतमा पठाइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी भोजराज पाण्डेयले जानकारी दिए।





Write your Comment