

वीरगञ्ज ।
एक हजार रुपैयाँको नक्कली नेपाली नोटसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक हजार दरको ९५ वटा नक्कली नेपाली नोटसहित हेटौँडाबाट दुई जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मधेस प्रदेशस्थित रौतहटको कटहरिया नगरपालिका ६ बस्ने १९ वर्षीय धर्मेन्द्र महरा र २१ वर्षीय दीपेश दास रहेका छन् ।
हेटौँडा उपमहानगरपालिका – १५ चुरिया माई मन्दिर क्षेत्रस्थित सडक खण्डमा पैदल हिँडिरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय पशुपतिनगरमा ल्याएर सोधपुछ गर्दा उनीहरूले नक्कली नोट मकवानपुरको राक्सिराङ गाउँपालिका – २ बस्ने ४० वर्षीय विजय तामाङबाट ल्याएको बयान दिएका थिए । सोही बयानको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरको टोलीले तामाङलाई पनि नियन्त्रणमा लिएको छ ।नियन्त्रणमा रहेका तिनै जनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाइएको छ ।





Write your Comment