आमाछोरी मृत्यु प्रकरण : प्रेममा धोका पाएको बदला

रातोघर

 २०८० आश्विन ५, शुक्रबार  मा प्रकाशित
४९१ पाठक संख्या


सल्यान ।

सल्यानमा जलेको अवस्थामा शव फेला परेका आमाछोरीको हत्या भएको पुष्टि भएको छ।गत भदौ ३० गते त्रिवेणी गाउँपालिका २ झालेढुंगा थापाटोलकी २९ वर्षीया रेवती थापा र उनकी ९ महिनाकी छोरी ऋतु थापाको शव फेला परेको थियो। आफ्नै घरको कोठामा आमाछोरीको आधा शरीर जलेको अवस्थामा फेला परेको थियो।

हत्या गरेको आरोपमा प्रहरीले सल्यान सिद्ध कुमाख गाउँपालिका २ खानीगाउँका २८ वर्षीय कर्ण बहादुर बस्नेतलाई पक्राउ गरेको हो। उनलाई घटना भएको पाँच दिन पछि सिद्ध कुमाख गाउँपाकिला ३ ढोरचौर बजारबाट बुधबार साँझ पक्राउ गरेको हो।

रेवतीलाई सलले घाँटी बेरेर अर्ध बेहोस भएपछि शरीरमा पेट्रोल छर्किएर प्रमाण लुकाउन कोठामा आगो लागेर मृत्यु भएको देखाउन आगजनी गरेको खुल्न आएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख नविन कार्कीले जानकारी दिए। बिहीबार पत्रकार सम्मेलन गर्दै प्रहरीले हत्या गरेको आरोपमा बस्नेतलाई सार्वजनिक गरेको हो।

प्रेममा धोका पाएपछि बदला 

हत्या आरोपित बस्नेत र मृतक थापाबीच विगत सात वर्ष अघि सामाजिक सञ्जालमा चिनजान भएको अनुसन्धानबाट खुल्न आएको कार्कीको भनाइ छ। सामाजिक सञ्जालमा कुराकानी गर्दै गर्दा माया प्रेम बसेको र विवाह गर्ने  निर्णयसम्म पुगेको अनुसन्धानबाट खुलेको उनले बताए तर रेवतीले  चार वर्ष अघि गाउँकै अर्को पुरुषसँग विवाह गरे पछि आफूलाई धोका दिएको भन्दै बदलाको भावना सृजना भएको पाइएको छ।

प्रेममा धोका दिएको र विगतमा सहमतिमा खिचिएका शारिरीक सम्बन्धका फोटो तथा भिडियोका विषयमा उनीहरुबीच सामाजिक सञ्जालमै झगडा हुने गरेको समेत पाइएको छ। रेवतीको विवाह भएको दुई वर्ष पछि पुनः सामाजिक सञ्जाल मार्फत कुराकानी हुन थालेको र हत्याका अभियुक्त बस्नेतले रेवतीको श्रीमानलाई विगतमा लिएका अश्लिल फोटो र भिडियो पठाए पछि रेवतीको घरमा समेत झगडा परेको देखिन्छ।

आठ महिना अघि विदेशमै बनेको थियो हत्या गर्ने योजना 

वैदेशिक रोजगारीका शिलशिलामा दुबई बस्दै आएका कर्ण बहादुरले विदेश हुँदा नै रेवतीको हत्या गर्ने योजना बनाएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

सात महिना अघि आफूले काम गर्दै आइरहेको कम्पनीमा विदाका लागि अनुरोध गरे पनि कम्पनीले विदा नदिएपछि उनी भदौ २५ गतेमात्र दुबईबाट आएका थिए। दुबईबाट आएको एक सातामा नै रेवती एक्लै भएको मौका पारी राति करिब १० बजेतिर आगो लगाएर हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban