

राजविराज ।
एक दलित किशोरीलाई घरमा लगि बलात्कार गरिएको छ । सप्तरीकोे डाक्नेश्वरी नगरपालिका–३ की १६ वर्षीया दलित किशोरीलाई सोही वडा निवासी २४ वर्षीय महेशकुमार साहले बलात्कार गरेको प्रहरीले जनाएको छ ।
घटना गत ३ असोजमा भए पनि गाउँघरमा ढाकछोपको प्रयास तथा घटना मिलाउन दबाब दिँदा ढिलो गरी प्रहरीसमक्ष आइपुगेको हो । प्रहरीका अनुसार ३ असोजमा रातिको समयमा साहले ती किशोरीलाई विभिन्न बहानामा बोलाई गाई गुहालीमा लगेर बलात्कार गरेको खुलेको छ ।
पीडित किशोरीले मुख थुनेर मार्ने धम्की दिँदै जबरजस्ती गरेको बताएकी छन् । पीडित पक्षले बुधबार प्रहरीमा उजुरी दिएपछि मात्रै घटना बाहिर आएको हो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डीएसपी ढुण्डीराज नेउपानेले किशोरीलाई बलात्कार गर्ने महेश र बलात्कारको घटना मिलाउन दबाब दिने अर्का एक युवक प्रहरीमा उजुरी परेको थाहा पाएपछि फरार भएका छन् ।
दुवै जनाको खोजीकार्य तीव्र पारिएको उनले जनाए । बलात्कारको घटना ढाकछोप तथा मिलाउन दबाब दिने युवकको नाम भने अनुसन्धानमा बाधा पर्न नदिने मनसायले अहिले गोप्य राखिएको प्रहरीको भनाइ छ ।
किशोेरीका आफन्तले महेश र घटना मिलाउन दबाब दिने व्यक्तिविरुद्ध किटानी जाहेरीसमेत दिएका छन् । किशोरीको स्वास्थ्य परीक्षणबाट पनि बलात्कार पुष्टि भएको भन्दै प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जनाएको छ ।





Write your Comment