झलनाथ खनाल प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार, पूर्वमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा

रातोघर

 २१ आश्विन २०८०, आईतवार १४:१४  मा प्रकाशित
३१२ पाठक संख्या



काठमाडौं ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्प पाल्ने कार्यक्रममा भ्रष्टाचार गरेको आरोपमा अख्तियारले मधेस प्रदेशका पूर्वअर्थमन्त्री विजयकुमारसहित ७ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

सर्लाहीको लालबन्दी रहेको प्रतिष्ठानसँग मिलेर सर्पको विष संकलन, प्रशोधन र उत्पादन केन्द्र स्थापनाका लागि प्रदेश सरकारको आर्थिक वर्ष २०७६÷०७७ को बजेट वक्तव्यमा संघीय सरकारबाट समपुरक अनुदानका रुपमा प्राप्त रकमसहित बजेट विनियोजन गरिएको थियो ।

तर आर्थिक मामिलामन्त्री यादव र लालबन्दी नगरपालिकाका प्रमुख मानबहादर खड्काले आफूलाई नभएको अधिकार प्रयोय गरी कानुन विपरित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग साझेदारी गरेको र बदनीयतपूर्वक १७ करोड ९८ लाख ३३ हजार निकासा गरेको अख्तियारलको ठहर छ ।

विशेष अदालत, काठमाडौंमा आइतबार दायर मुद्दामा उनीहरुबाट १७ करोड ९८ लाख ३३ हजार असुल उपर गर्न र भ्रष्टाचार निवारण ऐनअनुसार कैद र जरिजानाको माग समेत गरिएको छ । यादव तत्कालीन मन्त्री भएकाले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २४ अनुसार थप कैद सजाय समेत मागदाबी गरिएको छ ।अख्तियारले मधेश प्रदेशको तत्कालीन आर्थिक मामिला सचिव प्रेमकुमार श्रेष्ठलाई पनि प्रतिवादी बनाएको छ ।

उनले यो कार्यक्रम कार्यान्वयन गर्नसक्ने वित्तीय, भौतिक एवं जनशक्ति भएको, योजनाको विस्तृत अध्ययन लगायतका पूर्वतयारी सम्न्न गरेर झुटो विवरण शर्त घोषणामा उल्लेख गरी योजना आयोगमा अनुदान प्रस्ताव पेश गरेको अख्तियारको ठहर छ । त्यसअनुसार संघीय सरकारबाट ३ करोड २७ लाख समपुरक अनुदान गएर प्रतिष्ठानसम्म पुगको थियो ।

उनलाई भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १ (झ) अनुसार कैद र जरिवाना गर्नुका साथै ३ करोड २७ लाख असलुल उपर गर्न समेत अख्तियारले मागदाबी गरेको छ ।

अख्तियारले तत्कालीन झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान, हालको राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानका अध्यक्ष रेवतीप्रसाद पन्त, महासचिव नवराज भण्डारी, कोषाध्यक्ष निरज भण्डारी र सदस्य देवेन्द्र रायविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

अध्यक्ष पन्तले प्रचलित कानुन विपरित लागत साझेदारी शुन्य रहेको प्रतिष्ठानको नाममा सरकारी रकमत प्राप्त हुने साझेदारीमा हस्ताक्षर गरी १७ करोड ९८ लाख ३३ हजार निकासा लिएको र अरुलेसञ्चालक समितिको बैठकबाट कानुन विपरित निर्णय गरी सरकारी रकम संस्थाको उद्देश्य र स्वीकृत कार्यक्रम विपरित खर्च गरेको अख्तियारको ठहर छ ।

१७ करोड ९८ लाख ३३ हजार सरकारी सम्पत्ति दुरुपयोग गर्ने काममा मतियर भई लाभ र सुविका लिए–दिलाएको भन्दै अख्तियारले प्रतिष्ठानका पदाधिकारीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐनको दफा ३ को उपदफा १(३)अनुसार सहप्रतिवादीलाई हुने सरहको कैद र जरिवाना मागदाबी गरेको छ ।

अख्तियारले प्रतिष्ठानको नाममा रहेको लालबन्दी नगरपालिका १ को ८ विघा ९ कठ्ठा ६.३३ धुर जग्गा र जिप जफातको मागदाबीका लागि प्रतिष्ठानलाई पनि प्रतिवादी बनाएको छ ।

Write your Comment