काठमाडौँ ।
गत शनिबार हमासको घातक आक्रमणलाई आफूहरूले रोक्न नसकेको इजरायलको सेनाले स्वीकार गरेको छ । इजरायली सेनाका प्रमुख रिचार्ड हेचले आफूहरू हमासको आक्रमण रोक्न असफल भएको तर त्यसबाट आफूहरूले गतिलो पाठ सिकेको पनि बताए ।उनका अनुसार अब समय युद्धको हो । कैयौँ सैन्य विश्लेषकहरूले मान्छेलाई भन्दा बढी प्रविधिलाई विश्वास गरिँदा इजरायलमा यसपटक धेरै मानिसले ज्यान गुमाएको बताइरहेका छन् ।
इजरायलमा भएको हवाई प्रतिरक्षा प्रणाली आइरन डोमले रकेट र क्षेप्यास्त्रलाई पत्ता लगाएर असफल बनाए पनि त्यसले आकाशबाट प्यारासुटमार्फत उडेर आएका मानिसलाई पत्ता लगाउन नसकेको बताइएको छ ।त्यसो त इजरायलको अनुसन्धान एजेन्सीहरूमाथि पनि यसपटकको प्रश्न उठ्न थालेको छ । यति ठूलो आक्रमणबारे उनीहरू किन बेखबर भएर प्रश्न गर्न थालिएको छ ।
यस क्रममा इजरायलले गाजा स्ट्रिपको गाजा सिटीबाट त्यहाँ रहेका प्यालेस्टाइनी नागरिकहरूलाई सो क्षेत्र खाली गराउन चेतावनी जारी गरेको छ । २४ घण्टाभित्र त्यहाँ बसोबास गर्ने १० लाखभन्दा बढी मानिसलाई सो ठाउँ छाड्न र दक्षिणी गाजा जान चेतावनी दिइएपछि संयुक्त राष्ट्रसंघले चिन्ता व्यक्त गर्दै उक्त चेतावनी फिर्ता लिन भनेको छ ।
तर, भीषण आक्रमणको योजना बनाइसकेको इजरायलले गाजा सिटीमा आक्रमण गरिछाड्ने दृढता लिएको छ । इजरायलले सर्वसाधारणहरू आफ्नो दुस्मन नभएको बताउँदै हमास लडाकुबाट टाढै रहन पनि आग्रह गरेको छ । हमासले सर्वसाधारणलाई मानव ढालको रूपमा प्रयोग गर्न सक्ने सम्भावना भएको इजरायलको भनाइ छ ।
राष्ट्रसंघका अनुसार गाजा सिटी छाड्न इजरायलले थोरै समय दिनु त्यो उनीहरूको जीवनमाथिको खेलवाड हो । इजरायल र हमासको युद्धमा झण्डै ३ हजार जनाको मृत्यु भएको छ । हमासको आक्रमणमा इजरायलतर्फ १३ सयले ज्यान गुमाउँदा इजरायलको आक्रमणमा ५०० बालबालिकासहित १५ सय ३७ प्यालेस्टाइनीको ज्यान गएको छ ।
Write your Comment