हमास–इजरायल युद्ध रोक्ने पक्षमा छैन अमेरिका, भन्छः युद्धविराम उपयुक्त छैन

रातोघर

 २०८० कार्तिक १४, मंगलबार  मा प्रकाशित
४१४ पाठक संख्या


काठमाडौं ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमासविरुद्ध युद्धविराम गर्न अस्वीकार गरेका छन् ।युद्धविरामका लागि संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको माग अस्वीकार गर्दै नेतान्याहुले भनेका छन्, ‘युद्धविराम गर्नु भनेको हमास र आतंकवादसँग आत्मसमर्पण गर्नु हो ।’

उनले हमासविरुद्धको युद्ध नजितेसम्म इजरायलले गाजा स्ट्रिपमा आक्रमण नरोक्ने दोहोर्‍याएका छन् । अक्टुबर ७ मा प्यालेस्टिनी लडाकु समूह हमासले आफ्नो भूमिमा आश्चर्यजनक हमला गरेपछि इजरायलले हमासविरुद्ध युद्धको घोषणा गरेको थियो ।

हमासले गरेको हमलामा अधिकांश सर्वसाधारणसहित १ हजार ४ सय जना मारिएका छन् भने दुई सयभन्दा बढी नागरिकलाई हमासले बन्धक बनाएर गाजामा लगेको छ ।

त्यसयता इजरायलले हमास शासित गाजाविरुद्ध ठूलो हवाई बमबारी अभियान चलायो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार गाजाका ५० प्रतिशत भवनहरू इजरायलको हवाई आक्रमणले पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् । प्रधानमन्त्री नेतान्याहुले हमासलाई ‘समाप्त’ पार्ने वाचा गरेका छन् । उनका अनुसार हमास समाप्त भएपछि यस्ता समूहका हमलाहरू दोहोरिने सम्भावना हुँदैन र इजरायल सुरक्षित रहन्छ ।

इजरायलको कारबाहीमा गाजाभित्र ८ हजारभन्दा बढी प्यालेस्टाइनीले ज्यान गुमाएका छन् । जसमध्ये बालबालिका र महिलाहरू पनि छन् । यसरी निर्दोष सर्वसाधारणहरू मारिन थालेपछि राष्ट्रसंघ र अन्य मानवअधिकारवादी संस्थाहरूले युद्धविरामको आह्वान गर्दा इजरायलले उक्त प्रस्ताव नमानेको हो ।

यसबीचमा अमेरिकाले पनि राष्ट्रसंघीय एजेन्सीहरूको हमास–इजरायल द्वन्द्व रोक्ने युद्धविरामको प्रस्तावलाई अस्वीकार गरेको छ । अमेरिकाले गाजामा इजरायली आक्रमण रोक्न नहुने र आफूहरू युद्धविरामको पक्षमा नभएको बताएको हो ।

सोमबार अमेरिकी सुरक्षा परिषद्‌का प्रवक्ता जोन किर्बीले अमेरिकी सरकारको नीति सार्वजनिक गर्दै भनेका छन्, ‘हमास–इजरायलबीच जारी गतिविधिमा युद्धविराम उपयुक्त कदम होइन भन्ने अमेरिका विश्वास गर्छ । हामी अहिले युद्धविरामको पक्षमा छैनौँ ।’

त्यसो त अमेरिकाले अक्टुबर ७ मा जब हमासले इजरायलमा आक्रमण गर्‍यो, त्यसबेलादेखि नै इजरायलमा हतियार दिइरहेको छ । इजरायलको समर्थनमा अमेरिकाले रेड सी र भूमध्य सागरमा युद्धपोत र लडाकु विमानहरू पनि तैनाथ गरेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban