१६ जना बितेको गोइरीगाउँ : गासको टुंगो छैन, शीत नथेग्ने त्रिपालमुनि बास छ

रातोघर

 २०८० कार्तिक २०, सोमबार  मा प्रकाशित
३७३ पाठक संख्या


 काठमाडौं ।

भूकम्पले घर भत्किएर १६ जनाको ज्यान गएको आठबिसकोटको गोइरीगाउँ शोकमा डुबेको छ । गाउँका अधिकांश घर भत्किएका छन् । भूकम्प गएको तीन रात स्थानीयले खुला आकाशमुनि रात काटे । पेटभरि खाने स्थितिसमेत नरहेको ७० वर्षीया कलि मल्ल बताउँछिन् । ‘बुढेशकालमा यस्तो दिन देख्नुपर्‍यो । त्यस्तो राम्रो गाउँ अहिले उजाड भयो’, उनले शिलापत्रसँग भनिन्,‘आफ्नै घर काल बन्यो ।’

शुक्रबार मध्यरातको कहालीलाग्दो घटना अहिले पनि कलिको आँखामा घुमिरहन्छ । गुहार माग्दा पनि उद्दार हुन नसकेर घरभित्रै पुरिएर बितेका छिमेकीका अनुहार सम्झिँदा बेचैनी हुन्छ । ‘त्यो रात चिच्याउँदै कराउँदै गुहार मागेरै बित्यो । भत्किएको घरमा बस्ने स्थिति छैन । शीत नथेग्ने त्रिपाल छ, त्यसैको ओतमा रात काटिरहेका छौँ’, उनले भनिन् ।

अन्नपात, भाँडाकुडा सबै घरमै पुरिएका छन् । के खाने, के लगाउने स्थितिमा भूकम्प प्रभावित छन् । ‘आफन्त बित्नुको शोक एकातिर छ । भोकै प्यासै अनिँदो रात काट्नुको दुःख सँगै छ । घाइते आफन्त अस्पतालमा छन् । यस्तो बिजोग कसैले भोग्नु नपरोस्’, कलिले लामो सास फेर्दै भनिन्, ‘मनमा औडाह भो । सरकार कहिले आउने हो ?’

आठबिसकोट नगरपालिका ९ का हरि पुनले फेरि भूकम्प आउने त्रास र चर्किएको घरमा बस्न डर लागेर धान काटेको बारीमा त्रिपाल टाँगेर परिवारका सबैले दिनरात कटाएको बताए । सामान निकाल्न मिल्ने कुनै घरबाट अन्नपात निकालेर चौरमा पकाउने र बाँडिचुँडि आधा पेट खाने गरेकाे सुनाउँदै उनी भन्छन्, ‘एउटा बिस्कुट वा चाउचाउ पाउँदा पनि खुसी हुने स्थिति छ ।’

मृतकका परिवारलाई पहिलो प्राथमिकता

आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसीले आइतबार दिउँसोदेखि राहत वितरण सुरु गरिएको बताए । वडा नम्बर १४ मा सबैभन्दा धेरै मानिसको मृत्यु भएको छ । त्यहीँबाट राहत वितरण सुरु गरिने उनले बताए ।

नगरपालिकाले कर्णाली प्रदेश सरकार, नगरपालिका आफैँ, स्थानीय सहयोगीसमेतबाट प्राप्त राहत बोकेर पीडितको घरमा जान थालेको छ । तत्कालका लागि त्रिपाल, कम्बल र दैनिक उपभोग्य सामग्रीहरु बोकेर प्रभावित बस्तीमा गएको र मृतकका परिवारलाई पहिलो प्राथमिकतामा राखेर वितरण सुरु गरिएको नगरप्रमुख केसीले बताए ।

एकद्वार प्रणालीमार्फत राहत वितरण

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले खोज र उद्धारको काम पूरा भएकोले अब राहत र पुनर्स्थापनाकाे कामतर्फ अघि बढेको जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले खोज तथा उद्धारको कार्यपश्चात भूकम्प प्रभावित र पीडितहरूलाई राहत वितरण गर्ने प्रयोजनार्थ जिल्ला विपद् व्यवस्थापन समितिले एकद्वार प्रणालीमार्फत राहत वितरणको मोडलमा काम गर्ने बताए । उनले भने, ‘विभिन्न निकाय तथा सस्थाले राहत पठाउन सुरु गर्नुभएको छ, सरकारले तयार गरेर सम्बन्धित स्थानीय तहसँगको समन्वयमा वितरण गर्दैछौँ ।’

एक महिनाको तलब कोषमा जम्मा गर्ने

रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा रहेका जनप्रतिनिधि, शिक्षक र कर्मचारीहरूले एक महिनाको तलब राहत काेषमा जम्मा गर्ने भएका छन् । आठबिसकोट नगरपालिकामा रहेका करिब पाँच सय जना जनप्रतिनिधि, शिक्षक र कर्मचारीले भूकम्प प्रभावित तथा पीडितहरूको सहयोगका लागि एक महिनाको तलब र भत्ता नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने भएका हुन् । नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको छ ।

नगरपालिकामा मानवीय र भौतिक संरचनामा पनि ठूलो क्षतिपछि विक्षिप्त बनेको बताउँदै नगरप्रमुख केसीले  तत्कालका लागि मृत्यु भएका व्यक्तिका परिवारलाई २५ हजार रुपैयाँका दरले किरिया खर्च उपलब्ध गराउने निर्णय जानकारी दिए ।

बैठकले उपप्रमुख धनकुमारी शाहीको संयोजकत्वमा ११ सदस्यीय विपद् क्षति लगत सङ्कलन मूल्याङ्कन समिति गठन गरेको छ भने सहयोगका लागि विभिन्न दातृ निकाय, संघ संस्थालाई अपील समेत गरेको छ । यहाँका सयौँ घरहरू भत्किएका छन् भने चर्किएका घरहरू बस्न नमिल्ने अवस्थामा रहेका छन् । भूकम्पका कारण आठबिसकोट नगरपालिकामा ४२ र सानीभेरी गाउँपालिकामा १० जनाको मृत्यु भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन