भारत ।
भारतको उत्तराखण्डको यमुनोत्री राष्ट्रिय राजमार्गमा निर्माण भइरहेको सुरुङ भत्किँदा काम गरिरहेका ३६ जना मजदुर फसेका छन् । मजदुरको उद्धार कार्य जारी रहेको छ ।
सुरुङ उत्तर काशी जिल्लाको सिल्कियारा र डण्डलगाउँ जोड्न निर्माण भइरहेको थियो । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले समेत राज्यका मुख्यमन्त्री पुष्कर धामीलाई फोन गरी उद्धार कार्यको जानकारी लिएका छन् ।
सुरुङमा फसेका मजदुरहरू सकुशल रहेको अधिकारीहरूको दाबी छ । उनीहरूलाई बाहिरबाट अक्सिजन पुर्याउने काम भइरहेको पनि बताइएको छ । तर, अलपत्र परेका मजदुरहरूसँग कुनै सम्पर्क भएको छैन । उत्तर काशिका सिओ प्रशान्त कुमारले सोमबार भने, ‘हामी भर्खर सुरुङभित्रबाट आएका हौँ । हामीले हिजो राति सुरुङमा फसेका मानिसहरूसँग सम्पर्क गरेका थियौँ ।’
‘हामीले यहाँ पानी र अक्सिजन आपूर्ति गर्ने राष्ट्रिय राजमार्ग तथा पूर्वाधार विकास निगम लिमिटेडको पाइपलाइनमा वायरलेस मार्फत सम्पर्क गर्ने प्रयास गर्यौँ । उनको सहयोगमा हामीले भित्र फसेका मानिसहरूसँग सम्पर्क गरेका छौँ । उनीहरूले आफू ठिक रहेको बताएका छन् ।’
अलपत्र परेका मजदुरमध्ये एक मात्र उत्तराखण्डका हुन् । बाँकी बिहार, पश्चिम बङ्गाल, यूपी, झारखण्ड, ओडिशा र हिमाचल प्रदेशका हुन् । सुरुङमा फसेका मजदुरको उद्धारका लागि राज्य प्रकोप उद्धार बलका उद्धारकर्मी, स्थानीय प्रहरी र प्रशासनसँग मिलेर काम गरिरहेका छन् । सुरुङ नजिकैको फोहोर हटाउन जेसीबी र अन्य मेसिनको प्रयोग भइरहेको छ ।
Write your Comment