पचरौतामा ढुंगा हानाहान दुई घाइते,आठ राउण्ड हवाई फायर

रातोघर

 २०८० मंसिर ६, बुधबार  मा प्रकाशित
५०४ पाठक संख्या


बारा ।

बाराको पचरौतामा सोमबार राति महावीरी मेला लगाउने विषयमा स्थानीय विच ढुंगा हानाहान भएको छ ।राति १० बजेको समयमा पचरौता नगरपालिका वडा नं.०७ बेनौली स्थित झण्डा मेला लगाउने विषयलाई लिएर सो ढुंगा हानाहान भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

मेला लगाउने विषयमा गाउँका दुबै पक्ष गरी सयौं मानिसहरू विच वादविवाद भएको थियो ।सो विवाद ढुङ्गा मुढा हानाहान तथा झडपमा परिणत भएको थियो । तनावग्रस्त स्थितिलाई लिन घटनास्थलमा पुगेको प्रहरी टोलीले राति ११ बजे दुई राउण्ड हवाई फायर गरेको हो ।

झडपलाई सामान्य बनाउनको लागि दुई राउण्ड हवाईफायर गरी भीडलाई प्रहरीले तितर बितर पारेको थियो ।शुरुमा अवस्था सामान्य बनाईएकोमा राति पौने १२ बजेको समयमा दुबै पक्ष विच एक आपसमा पुनः ढुङ्गा हानाहान भएको थियो । प्रहरीले स्थिति नियन्त्रणमा लिन पुनः पाँच राउण्ड हवाई फायर गरेको हो ।

यसपछि एक राउण्ड गरी जम्मा आठ राउण्ड गोलि हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । यसपछि भिडलाई तितर बितर पारी तत्कालको लागि अवस्था सामान्य बनाईएको छ ।

हालसम्म ढुङ्गा हानाहानबाट दुई जना घाईते भएका छन् । घाइते हुनेमा पचरौता न.पा. ७ बेनौली बस्ने ४० वर्षीय लक्ष्मी पटेल तथा सोही ठाउँका ४२ वर्षीय चण्डीका पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले मंगलबार प्रेस विज्ञप्ति जारी गरी जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन