

वीरगञ्ज ।
कलैया उपमहानगरपालिका नगर प्रमुख विनोद साहले यातायात कार्यालयको स्थानीय कार्यालय व्यवस्थापन गर्नका लागि नगरपालिकाले ३ बिगाहा जग्गा उपलब्ध गराउने घोषणा गरेका छन् ।
बाराको कलैया उपमहानगरपालिका – ३ गंगापुरस्थित शिक्षा तालिम केन्द्रको भवनमा सोमवार आयोजना गरिएको यातायात व्यवस्था कार्यालयको उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले उक्त घोषणा गरेका हुन् । उनले कलैया नगर र बारा जिल्लावासीको थप सुविधाको लागि आवश्यक सहयोग गर्न उपमहानगर पछाडि नपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिंहले मधेस प्रदेश सरकारको यातायात मन्त्रालयले एकै चोटी १० वर्षसम्मको लागि हुने गरी सवारी चालक अनुमति पत्र (ड्राइभर लाइसेन्स) र सवारी तथा ढुवानीका साधनको नवीकरण गर्ने व्यवस्था मिलाउन लागेको जानकारी गराए । उनले यसबाट सेवाग्राहीले बारम्बार नवीकरण गराउनुपर्ने झन्झटबाट मुक्ति पाउने र जनताले सङ्घीयताको अनुभूति पर्न गर्न पाउने बताए ।
सोही कार्यक्रमका विशिष्ट अतिथि बारा क्षेत्र नम्बर ३ ख का प्रदेशसभा सदस्य मोहम्मद समीरले यातायात कार्यालयको उद्घाटन र सञ्चालन हुनु बारा जिल्लावासीको लागि खुसीका कुरा भएको बताए ।
प्रदेशसभा सदस्य समीरका अनुसार कार्यालयबाट सेवा सञ्चालन भएपछि अब बाराका सेवा ग्राहीहरूलाई सवारी र ढुवानी साधन र लाइसेन्सको नवीकरणसँगै सवारी साधनको नामसारी, ड्राइभर लाइसेन्स बनाउनका लागि वीरगञ्ज धाउनुपर्ने अवस्थाको अन्त्य हुने बताए ।
कार्यक्रममा बारा क्षेत्र नम्बर ३ क का प्रदेशसभा सदस्य रवीन्द्र दास श्रेष्ठले यातायात कार्यालयको व्यवस्थापन तर्फ ध्यान दिन सम्बन्धित निकायलाई सुझाव दिए । कार्यालय खोलेर मात्रै नहुने भन्दै प्रदेशसभा सदस्य श्रेष्ठले प्रभावकारी रूपमा सेवा सञ्चालनमा ल्याउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा जनमत पार्टीका जिल्ला इन्चार्ज शिवनाथ पटेल, नेता सन्तोष पटेल, मुकेश द्विवेदी, जसपाका नेता रामबाबु कुमार यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, नेता पारस साह, नेकपा माओवादीका कलैया नगर अध्यक्ष मुकेश साहलगायतकाले कार्यालय सञ्चालन ल्याइएकोमा खुसी व्यक्त गरेका थिए ।





Write your Comment