जगदम्बा स्टिलको आईपीओ विवाद : जीतपुरसिमराले धितोपत्र बोर्डलाई पठायो पत्र

रातोघर

 २०८० पौष २५, बुधबार  मा प्रकाशित
७७८ पाठक संख्या


सिमरा ।

देशकै ठुलो स्टिल फ्याक्ट्री ‘जगदम्बा स्टिल’ को प्रिमियम मूल्यको आईपीओ विवादमा फसेको छ । शंकर ग्रुपको लगानी रहेको कम्पनीले २०८० असोज १७ मा प्रिमियम मूल्यमा ६ अर्ब रुपैयाँ बराबरको प्राथमिक सेयर (आईपीओ) जारी गर्न धितोपत्र बोर्डसँग स्वीकृति माग गरेको थियो ।

कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अङ्कित मूल्यमा थप २०० रुपैयाँ प्रिमियम थपेर ३०० रुपैयाँमा सेयर बिक्री गर्ने प्रस्ताव गरेको छ । तर, उक्त प्रस्ताव स्वीकृत नगर्न भन्दै सोमबार बोर्डमा निवेदन परेको छ ।

उद्योग प्रभावित क्षेत्र जीतपुरसिमरा उपमहानगरपालिकाका वडा नम्बर १ र २ ले सोमबार बोर्डलाई छुट्टाछुट्टै पत्र काट्दै कम्पनीको प्रिमियम मूल्यको सेयर निष्काशन रोक्का गर्न आग्रह गरेका हुन् ।

अति प्रभावित उपमहानगरपालिकाका वडा नम्बर १ र २ का बासिन्दाहरुलाई समेत अन्यसरह प्रिमियम मूल्य (प्रतिसेयर ३०० रुपैयाँ) मै सेयर बिक्री गर्न लागिएकोप्रति आपत्ति जनाउँदै वडाबासीहरुले सम्बन्धित वडामा उजुरी दिएको र सोही उजुरीका आधारमा प्रभावित वडा नम्बर १ र २ ले बोर्डमा पत्र काटेको हो ।

उद्योग प्रभावित क्षेत्र वडा नम्बर १ र २ लाई अतिप्रभावित क्षेत्र घोषणा गरी स्थानीयवासी एवं सर्वसाधारणलाई सेयर जारीगर्दा ऐन नियमले दिने भए कम्तीमा ६० प्रतिशत सेयर आरक्षित गरी प्रतिकित्ता रु.१०० मात्र कायम गर्न प्रभावित वडाहरुले बोर्डसँग माग गरेका छन् । अन्यथा, कम्पनीलाई सेयर निष्काशनको स्वीकृति नै नदिनसमेत उनीहरुले बोर्डसँग माग गरेका छन् ।

जितपुरासिमरा उपमहानगरपालिका वडा नम्बर १ र २ का कार्यवाहक अध्यक्षहरुले पठाएको पत्र जगदम्बा स्टिल लिमिटेड सिमरा र कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड काठमाडौँलाई समेत बोधार्थ पठाइएको छ ।

बोर्डद्वारा अनभिज्ञता जारी

तर, यता नियामक धितोपत्र बोर्डले प्राप्त पत्रबारे अनभिज्ञता जनाएको छ । स्थानीय पालिका, उद्योग प्रभावित स्थानीय र वडाले पठाएको पत्रको सन्दर्भमा के निर्णय हुन्छ भन्ने प्रश्नमा बोर्डका उपकार्यकारी निर्देशक तेजप्रसाद देवकोटाले सोबारे आफूलाई जानकारी नै नभएको बताए ।

सोही सवाल बोर्डका प्रवक्ताको जिम्मेवारी पाएका कार्यकारी निर्देशक मुक्ति श्रेष्ठलाई सोध्न खोज्दा आफू अन्य कामले बाहिर रहेकाले बोल्न नसक्ने जवाफ दिए ।

यतिबेला धितोपत्र बोर्ड नेतृत्वबिहीनको अवस्थामा छ । अध्यक्ष रमेशकुमार हमाल आफ्नो २१ महिने कार्यकाल पूरा गरेर गत शुक्रबार मात्र बोर्डबाट बाहिरिएका छन् ।

बोर्डको मूल्याङ्कनपछि अर्को चरणमा जान्छौं : निर्देशक बंसल

तर, यता प्रिमियम सेयर निष्काशनको तयारीमा रहेको जगदम्बा स्टिलले उद्योग प्रभावित स्थानीयका लागि के गर्ने भन्ने यकिन जवाफ दिन सकेको छैन । सेयर निष्काशनको प्रारम्भिक चरणमै रहेकाले धितोपत्र बोर्डबाट प्रिमियम मूल्य कतिसम्म हुने ? अध्ययनकै क्रममा रहेकाले यो बारेमा बोल्न उपयुक्त नहुने कम्पनीका निर्देशक सी.ए.दिपक बंशलले रातोपाटीसँग बताए ।

‘सेयर निष्काशनका लागि बोर्डसँग अनुमति मात्र माग गरिएको छ । स्वीकृति आइसकेको छैन । प्रस्तावित प्रिमियम मूल्य उचित छ कि छैन, बोर्डले अध्ययन गरिरहेको छ । उताबाट यथार्थ मूल्य आएर स्वीकृति पाएपछि आईपीओ निष्काशनमा जाने हो,’ उनले रातोपाटीसँग भने ।

तर, प्रभावित स्थानीयवासीका असहमति तथा विरोधका बारेमा के हुन्छ भन्ने विषयमा उनले बोल्न चाहेनन् ।

होलसेल मूल्यमा निष्काशनको तयारीमा रहेको कुल ६ अर्ब रुपैयाँ बराबरको सेयरमध्ये २ प्रतिशत सेयर (४ लाख १ हजार ४ सय) कित्ता स्थानीयका लागि छुट्याइने बताइएको छ । तर, समान प्रिमियम मूल्यमा स्थानीयले समेत अरु सरह नै कम्पनीको सेयर खरिद गर्नुपर्ने व्यवस्थाका कारण स्थानीहरु आक्रोसित हुन पुगेका हुन् ।

यता कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको जिम्मेवारी पाएको सिद्धार्थ क्यापिटलले कम्पनीको निर्णय अनुसार काम गर्ने हुँदा कम्पनीकै निर्देशन मान्ने बताएको छ । स्थानीय पालिका, स्थानीहरुको पत्र पाउने बित्तिकै क्यापिटलले कम्पनीलाई जानकारी गराएको सिद्धार्थ क्यापिटलका प्रमुख कार्यकारी निर्देशक (सीईओ) सन्दिप कार्कीले रातोपाटीसँग बताए । यसबारे कम्पनीले आफ्नो बोर्डमा छलफल गरेर छिट्टै जानकारी गराउने समेत बताएको उनले बताए ।

jagadamba-3

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban