जीतपुरसिमरा गोल्डकपः आयोजकलाई हराउँदै पुलिस पुग्यो सेमीफाइनल

रातोघर

 २९ चैत्र २०८०, बिहीबार ०८:३४  मा प्रकाशित
२८६ पाठक संख्या



सिमरा ।

विभागीय टोली नेपाल पुलिस क्लब जगदम्बा स्टिल १४ औं जीतपुरसिमरा गोल्डकपको सेमीफाइनलमा प्रवेश गरेको छ । बुधबार राती सिमरा रङ्गशालामा भएको क्वाटरफाइनलमा पुलीसले आयोजक नव जन जागृती युवा क्लब सिमरालाई घरेलु मैदानमा स्तब्ध बनायो । आयोजकलाई २–१ गोल अन्तरले पाखा लगाउँदै पुलिसले अन्तिम चारमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

पुलिसको जीतमा दुबै गोल उज्वल राईले गरेका थिएभने आयोजक टिमका लागि मोहित गुरुङले पेनाल्टी गोल गरेका थिए । खेलको तेश्रो मिनटमै आयोजकविरुद्ध पुलिसले अग्रता बनाएको थियो । आयोजकको समर्थनमा सिमरा रङ्गशालामा उपस्थित करिब ८ हजार घरेलु दर्शकलाई निराशपार्दै पुलिसका लागि उज्वल राईले उत्कृष्ट शुरुवात गरेका थिए । राईट कर्नर एरियाबाट आयोजकका डिफेण्डर बिट गर्न सफल सुजन मगरको पासमा उज्वलले गोल गरेका थिए ।

शुरुवाती दबाबमा परेको आयोजक खेलको पाँचौ मिनटमा पेनाल्टी मार्फत गोल गर्दै खेलमा फर्कियो । पुलिस क्लबका निरज खड्काले आयोजक टिमका मोहित गुरुङलाई डिबक्स भित्र फाउल गरेपछि फिफा रेफ्री प्रज्वल थापा मगरले आयोजकलाई पेनाल्टी अवसर प्रदान गरेका थिए । पेनाल्टी मार्फत गोल गर्दै मोहित गुरुङले आयोजकलाई बराबरीमा ल्याएका थिए । खेलको १९ औं मिनटमा उज्वल राईलेनै गोल गर्दै पुलिसको अग्रता दोब्बर पारे । डिबक्स बाहिरबाट आयोजकका डिफेण्डर बिट गर्दै बल अघि बढाएका उज्वलले उत्कृष्ट गोल गर्दै टिमको अग्रता दोब्बर पारे ।

प्रतिष्पर्धात्मक खेलको पहिलो हाफमा भएको गोलनै पुलिसको जितमा निर्णायक बन्यो । दुबै टिमले अन्तिम सम्म संघर्ष गरेका थिए । खेलमा दुबै टिमले आकर्षक अवसरहरु सिर्जना गरेपनि गोल हुन सकेन । खेलको ११ औं मिनटमा पुलिसका उज्वल राईले पेनाल्टी एरियामा पाएको अवसर खेर फाले । सुजन मगरको पासमा उज्वलले गरेको प्रहार फस्टबार नजिकबाट बाहिरिएको थियो ।

Write your Comment