मधेश प्रदेशले बिउमा परनिर्भता घटाउन विशेष परियोजना ल्याउने

पुष्पराज खतिवडा

 १९ बैशाख २०८१, बुधबार १८:१२  मा प्रकाशित
५८५ पाठक संख्या



बारा ।
मधेश प्रदेश सरकारले बिउविजन सम्बन्धी विशेष परियोजना संचालनमा ल्याउने भएको छ । बुधबार बाराको कलैयामा कृषि ज्ञान केन्द्रले आयोजना गरेको प्रदेश स्तरिय बिउ उत्पादक एकदिने गोष्ठिलाई सम्बोधन गर्दै मधेश प्रदेशको भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा.शरण कुमार पाण्डेले यस्तो बताउनु भएको हो ।

बिउमा परनिर्भता घटाउने प्रयासका लागि विउ उत्पादक किसानलाई विना ब्याजमा बिउपुँजी समेत दिएर सहयोग गरिने छ । यस्तै बिउ उत्पादकका लागि समयमा मल, विउ र उपयूक्त सिंचाईको ब्यवस्थापनमा काम गर्ने लगायत बिउ उत्पादनमा देखीएका समस्या समाधानमा परियोजनाले काम गर्ने उहाँले बताउनु भयो ।

नेपाल कृषि अनुसन्धान परिषद(नार्क)सँग सहकार्यगरी मुल बिउ प्रयाप्त उपलब्ध नहुने समस्याको समाधान गरिने छ । मन्त्रालय र निर्देशनालयले परियोजनाको गृहकार्य गरिरहेको बताउँदै सचिव पाण्डेले बिउ उत्पानदका लागि आवश्यक पूर्वाधार निर्माणमा काम गरिने बताउनु भयो ।

सचिव पाण्डेले यसअघिका असफल कार्यक्रमलाई हटाउँदै आजको भन्दा भोलि फरक हुने गरी काम गरिनु पर्ने अवस्था औंल्याउँदै कृषि क्षेत्रका समस्या ३० मिनट भित्रै समाधान गर्नेगरी संयन्त्र तयार गरीने छ , भन्नु भयो ।

त्यसकालागि प्रत्यक जिल्लामा २ जनाका दरले अधिकृत स्तरका विउ तथा विषादी निरिक्षक राखीने बताए । समग्रमा विउ उत्पादन क्षेत्रलाई परिस्कृत गर्दै आत्मानिर्भरता तिर मधेश प्रदेशलाई लैजाने उहाँको भनाई थियो ।

कार्यक्रममा कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका निर्देशक जितेन्द्र यादवले मधेश प्रदेशका जिल्लामा धान, गहुँ, दलहन र तेलहनका बिउमा परनिर्भता घटाउन जरुरी भएको बताउनु भयो ।अनुदानको भरमा मात्रै विउमा आत्मनिर्भता हुन नसक्ने भन्दै सरकार र उत्पादक मिलेर अगाडी बढ्नु पर्ने उहाँको भनाई थियो ।

कार्यक्रममा बिउ विजन गुण नियन्त्रण केन्द्र काठमाण्डौंका उप सचिव मोहन प्रसाद खतिवडा, मधेश प्रदेशको भुमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उपसचिव राममणी अधिकारी,रोशन मेहता र सरोज चौधरीको सहभागिता थियो ।

यस्तै मधेश प्रदेशका बारा,पर्सा,रौतहट सहित आठै जिल्लाका कृषि ज्ञान केन्द्र प्रमुख एवं बिउ उत्पादक संस्थाका प्रतिनीधिहरु गरी कार्यक्रममा ८५ जनाको सहभागिता रहेको थियो ।

बिउ उत्पादनका क्षेत्रमा देखीएका समस्या केलाएर समाधान गर्ने उदेश्यले सरकार र उत्पादकहरुको संयूक्त भेला(गोष्ठि)को आयोजना गरिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख राज नारायण प्रसाद साहले जानकारी दिनुभयो ।

कार्यक्रममा आयोजकका तर्फबाट ३ वटा भिन्नाभिन्नै कार्यपत्र प्रस्तुत गरिनुका साथै बिउ उत्पादकहरुलाई समस्या र तिनको समाधानका उपायसँगै सरकारसँगको उपेक्षा पेश गर्नेगरी समुह बनाएर छलफल गरिएको थियो ।

कार्यक्रम कृषि ज्ञान केन्द्र बाराका कृषि प्रसार अधिकृत रामजीवन ठाकुरको स्वागत तथा लेखापाल सुरेन्द्र चौधरीको सन्चालनमा सम्पन्न भएको हो ।

Write your Comment