बारा
जीतपुरसिमरा उपमहानगरपालिकाले पालिका भरीका सहकारीको क्षमता अभिवृद्धिका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम संचालन गरेको छ । सुक्रबार सिमरा स्थीत होटल क्लासिक प्लाजामा आयोजित दुईदिने तालिमको नगरप्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो ।
प्रमुख अतिथी नगरप्रमुख पौडेलले संख्यात्मकमा नभै सहकारीको गुणत्मक वृद्धिमा नगरको ध्यान रहेको बताउनु भयो । अन्यत्र सहकारीहरुमा देखिएका समस्या जीतपुरसिमराका जनताले भोग्न नपर्नेगरी कानुनी रुपमा सबल बन्न तालिममा सहभागिहरुलाई उहाँले आग्रह गर्नु भयो । कानुन परिपालनमा सहकारी संचालक र तीनका सदस्य चुक्दा समस्या भैरहेको भन्दै सहकारीहरुले निर्देशित कानुनलाई ब्यवस्था गर्न नहुने उहाँको भनाई थियो ।
जीतपुरसिमरा उपमहानगरपालिकामा १०३ वटा सहकारी रहेकोमा करिब ७५ वटा संस्था सक्रीय रहेका छन् । तीनै मध्येका ६५ वटा सहकारी कर्मचारी र संचालक गरी एकसय ५० जना प्रतिनिधीहरुको तालिममा सहभागिता रहेको पालिकाका सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनु भयो ।
तालिमका सहभागिलाई सुक्रबार साना किसान विकास लघुवित्त वित्तिय संस्थाका नायव कार्यकारी प्रमुख झलेन्द्र भट्टराईले सहजीकरण गर्नु भएको थियो । सहकारी संस्थाले समाज रुपान्तरणमा खेल्नुपर्ने भुमिका, कर्जा लगानी र असुलीमा विचार गर्नुपर्ने पक्ष र वर्तमान अवस्थामा सहकारीकर्मीले ध्यान पुर्याउनु पर्ने विषयमा भट्टराईले सहजीकरण गर्नु भएको थियो ।
शनिबार नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका सदस्य हरिप्रसाद पौडेलले सहजीकरण गर्ने कार्यक्रम रहेको सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनु भयो ।
तालिम जितपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षता , नगरस्तरिय सहकारी समन्य समितिका सदस्य मुकुन्द बहादुर क्षेत्रीको स्वागत एवं सहकारी शाखा प्रमुख चौधरीको संचालनमा सम्पन्न भएको हो ।
सुक्रबार र शनिबारगरी दुईदिन सम्म चल्ने तालिमको उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका कृषि, सहकारी तथा पशुपन्छि समितिकी सभापति एवं कार्यपालिका सदस्य प्रभावती देवी पास्वानले समेत बोल्नु भएको थियो ।
Write your Comment