जीतपुरसिमराका सहकारीलाई दुईदिने क्षमता अभिवृद्धि तालिम

पुष्पराज खतिवडा

 २०८१ जेष्ठ ४, शुक्रबार  मा प्रकाशित
६८९ पाठक संख्या


बारा 
जीतपुरसिमरा उपमहानगरपालिकाले पालिका भरीका सहकारीको क्षमता अभिवृद्धिका लागि दुईदिने क्षमता अभिवृद्धि तालिम संचालन गरेको छ । सुक्रबार सिमरा स्थीत होटल क्लासिक प्लाजामा आयोजित दुईदिने तालिमको नगरप्रमुख राजन पौडेलले उद्घाटन गर्नु भएको हो ।

प्रमुख अतिथी नगरप्रमुख पौडेलले संख्यात्मकमा नभै सहकारीको गुणत्मक वृद्धिमा नगरको ध्यान रहेको बताउनु भयो । अन्यत्र सहकारीहरुमा देखिएका समस्या जीतपुरसिमराका जनताले भोग्न नपर्नेगरी कानुनी रुपमा सबल बन्न तालिममा सहभागिहरुलाई उहाँले आग्रह गर्नु भयो । कानुन परिपालनमा सहकारी संचालक र तीनका सदस्य चुक्दा समस्या भैरहेको भन्दै सहकारीहरुले निर्देशित कानुनलाई ब्यवस्था गर्न नहुने उहाँको भनाई थियो ।

जीतपुरसिमरा उपमहानगरपालिकामा १०३ वटा सहकारी रहेकोमा करिब ७५ वटा संस्था सक्रीय रहेका छन् । तीनै मध्येका ६५ वटा सहकारी कर्मचारी र संचालक गरी एकसय ५० जना प्रतिनिधीहरुको तालिममा सहभागिता रहेको पालिकाका सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनु भयो ।

तालिमका सहभागिलाई सुक्रबार साना किसान विकास लघुवित्त वित्तिय संस्थाका नायव कार्यकारी प्रमुख झलेन्द्र भट्टराईले सहजीकरण गर्नु भएको थियो । सहकारी संस्थाले समाज रुपान्तरणमा खेल्नुपर्ने भुमिका, कर्जा लगानी र असुलीमा विचार गर्नुपर्ने पक्ष र वर्तमान अवस्थामा सहकारीकर्मीले ध्यान पुर्याउनु पर्ने विषयमा भट्टराईले सहजीकरण गर्नु भएको थियो ।

शनिबार नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडका सदस्य हरिप्रसाद पौडेलले सहजीकरण गर्ने कार्यक्रम रहेको सहकारी शाखा प्रमुख सुधन चौधरीले जानकारी दिनु भयो ।

तालिम जितपुरसिमरा उपमहानगरपालिकाका नगरउपप्रमुख भोला प्रसाद अधिकारीको अध्यक्षता , नगरस्तरिय सहकारी समन्य समितिका सदस्य मुकुन्द बहादुर क्षेत्रीको स्वागत एवं सहकारी शाखा प्रमुख चौधरीको संचालनमा सम्पन्न भएको हो ।

सुक्रबार र शनिबारगरी दुईदिन सम्म चल्ने तालिमको उद्घाटन समारोहमा जीतपुरसिमरा उपमहानगरपालिका कृषि, सहकारी तथा पशुपन्छि समितिकी सभापति एवं कार्यपालिका सदस्य प्रभावती देवी पास्वानले समेत बोल्नु भएको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन