लघुवित्तको कागजात जलाएको आरोपमा जसपा नेता शर्मा पक्राउ

रातोघर

 ६ जेष्ठ २०८१, आईतवार १९:३२  मा प्रकाशित
३५२ पाठक संख्या



सिमरा ।

जसपा नेपालका मधेश प्रदेश कमिटी सदस्य सोहन शर्मालाई बारा प्रहरीले कलैयाबाट पक्राउ गरेको छ ।  लघुवित्त वितीय संस्थाको कार्यालयमा आक्रमण गरी कागजात जलाएको आरोपमा प्रहरीले शर्मालाई पक्राउ गरेको हो ।

गत विहीबार बाराको परवानीपुरस्थित एनआइसी एशिया लघुवित्त वितीय संस्थाको कार्यालयमा आक्रमण गरी एक समुहले संस्थाको कागजात समेत जलाएको थियो । उक्त वित्तीय संस्थाले फर्जि तमसुक खडा गरी अनावश्यक दुःख दिएको आरोप लगाउँदै कागजात जलाउने समुहमा जसपा नेता शर्मा समेत सहभागी थिए ।

कार्यालयमा भएको हुलहुज्जत र कागजपत्र आगजनीमा संलग्न समुहको भिडीयो समेत बनाएर शर्माले आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका थिए ।

गत शुक्रबार पक्राउ परेका शर्मा विरुद्ध बारा प्रहरीले आपराधिक उपद्रवको मुद्या दर्ता गरी जिल्ला अदालत बाराबाट ७ दिनको म्याद लिई अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले जानकारी दिए ।

शर्मा सहित उक्त घटनामा संलग्न अन्य ब्यक्तिहरु विरुद्ध समेत जिल्ला अदालतबाट पक्राउ पुर्जी लिई बारा प्रहरीले खोजी गरिरहको छ ।‘अन्य ब्यक्तिहरु फरार छन्, हामीले खोजीरहेका छौं’ डिएसपी न्यौपानेले  भने ।

शर्माको पक्राउ विरुद्ध मिटर ब्याज पिडीत संघर्ष समितिले बाराको कलैयामा दबाबमुलक कार्यक्रम गरिरहेको छ । शनिबार र आइतबार सो समितीले शर्माको रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय बारा अगाडी प्रदर्शन गरेको थियो । शर्मा मिटर ब्याज पिडित संघर्ष समितिको बारा जिल्ला अध्यक्ष समेत हुन् ।

Write your Comment