जीतपुरसिमरा : मध्यरातमा टिपर चलाएर गरिबको घर भत्काउनेलाई कारबाहीको माग

१० महिनादेखि न्याय नपाएको भन्दै सडक अवरुद्ध

रातोघर

 ८ जेष्ठ २०८१, मंगलवार १७:३६  मा प्रकाशित
२५९ पाठक संख्या



सिमरा ।

जीतपुरसिमरा उपमहानगर–३, बजनीका लालबहादुर पाण्डेको घर भत्काएको घटनामा संग्लनलाई कारबाही र क्षतिपूर्तिको माग गर्दै  स्थानीयबासी र पाण्डे परिवारले सडक अवरुद्ध गरेका छन् । गत साउन ९ गते मध्यरातमा जग्गा कारोबारी तथा होटेल व्यवसायी इच्छाबहादुर वाग्लेका छोरा मन्सुन वाग्लेको नेतृत्वमा पाण्डे परिवारको भत्काइएको थियो ।

सो घटनामा हालसम्म  न्याय नपाएको भन्दै स्थानीय र पाण्डे परिवारले आइतबार साँझ पथलैया–वीरगन्ज औधेगिक करिडोर केही क्षण अवरुद्ध गरेका हुन् ।

प्रहरीले सो घटनाको अनुसन्धानको क्रममा सिसी क्यामरा फुटेजमा वाग्लेका छोरा मन्सुन वाग्लेको नेतृत्वमा मध्यरातमा टिपर लगाएर पाण्डेको घर भत्काएको भिडियो सार्वजनिक गरेको थियो ।

साउन ९ गते राति भएको घटनामा प्रहरीले अम्लेखगञ्ज, पथलैया, जीतपुर र परवानीपुरसम्मका सीसी क्यामेरामा कैद भएको फुटेज अध्ययन गरेको थियो । घटना हुनुभन्दा केही समय अघि पथलैयाबाट पहेलो रङको आइचर कम्पनीको टिपर निस्किएको र टिपरको पछिपछि एउटा स्कुटर र इच्छाबहादुर वाग्लेको गाडी उनकै छोरा मन्सुन वाग्लेले  चलाएको फुटेज भेटिएको थियो ।

सो घटना लगत्तै पाण्डे परिवारले इच्छाबहादुर वाग्लेको नाममा किटानी जाहेरी दिएका थिए । इलाका प्रहरी कार्यालय सिमराका तत्कालीन प्रमुख प्रदीप बहादुर क्षेत्रीले पाण्डेको घर भत्काउने कार्यमा संलग्न ८ जनामध्ये ४ जनालाई तत्कालै पक्राउ गरेका थिए भने मन्सुन वाग्ले सहित ४ जना पछि जिल्ला अदालत बारामा उपस्थित भएर धरौटीमा छुटेका हुन्  ।

पछिल्लो समय इच्छाबहादुर वाग्लेले पाण्डे परिवार विरुद्ध जिल्ला र उच्च अदालतमा आधा दर्जन मुद्दा दर्ता गरेको छन् । वाग्लेले पाण्डेको घर आफ्नो जग्गामा पर्ने दाबी गर्दै मुद्दा दायर गरेका छन् । तर पाण्डेको जग्गासँगै मनोज चिमोरियाको जग्गा जोडिएको छ भने चिमोरियाको सँगै वाग्लेको प्लटिङ छ ।

p2

Write your Comment