जीतपुरसिमरा र कलैया उपमहानगरबीच सीमा विवाद

रातोघर

 २१ जेष्ठ २०८१, सोमबार १९:३७  मा प्रकाशित
३०४ पाठक संख्या



जीतपुर सिमराको वडा नं १८ र कलैयाको वडा नं २४ को सीमानामा पर्ने उचिडी आधारभूत स्वास्थ्य केन्द्रको जग्गा स्वामित्वको विषयलाई लिएर दुई पालिकाबीच विवाद भएको हो ।

उचिडीलाई दुवै पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने दाबी गरेका छन् । उक्त ठाउँमा पहिल्यैदेखि नै जीतपुर सिमरा उपमहानगरले प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन गर्दै आएको थियो । सोही केन्द्रको पर्खाल लगाउने क्रममा कलैया उपमहानगरले हस्तक्षेप गरेको जीतपुर सिमरा उपमहानगर–१८ का वडाध्यक्ष चतुरबाबु वाग्लेको भनाई छ ।

‘यो ठाउँ हाम्रो वडा क्षेत्रभित्र पर्छ । त्यहाँ पहिल्यैदेखि हाम्रो पालिकाको आधारभूत स्वास्थ्य सेवा केन्द्र चलिरहेको छ’, वाग्लेले भने, ‘अहिले त्यहीं पर्खाल लगाउनेबेला अर्को पालिकाले नगर प्रहरी पठाएको छ ।’

उक्त ठाउँको नापजाँच गर्न शुक्रबार दिउँसो १ बजे दुवै पालिकाबीच सहमति भएको तर, सवा १ बजे कलैयाको नगर प्रहरीले हस्तक्षेप गरेको वडाध्यक्ष वाग्लेले दाबी गरे । ‘उहाँले नै अमिन पठाउने भनेपछि हामी १ बजेसम्म पर्खेका थियौं । तर, अमिनसँगै नगर प्रहरी पठाएर स्वास्थ्य सेवा केन्द्रको काम रोकियो’, उनले भने ।

जग्गा सीमानाको विषयमा कुनै विवाद भए दुवै पालिकाबीच बसेर सहमतिमा अघि बढ्न सकिनेमा कलैया उपमहानगरले शक्तिको दुरुपयोग गरेको जीतपुरको वडा नं ८ कार्यालयले जनाएको छ ।

‘स्वास्थ्य सेवाजस्तो संवेदनशील क्षेत्रमा निर्माणाधीन भौतिक संरचनाको तोडफोड, अवरोध र हुलहुज्जत गरी अराजक गतिविधि गरी गैर–जिम्मेवारपूर्ण हर्कत पदीय मर्यादाविपरीत रहेको यस कार्यालयको ठहर छ’, वडा कार्यालयले विज्ञप्तिमा भनेको छ ।

पर्खाल निर्माणको काममा रोक लगाएको र तोडफोड गरेकाले कलैया उपमहानगरले क्षतिपूर्तिसमेत दिनुपर्ने जीतपुरसिमराले माग गरेको छ ।

Write your Comment