अंक र अक्षर पनि चिन्दैनन् जितपुरसिमराका विद्यार्थी, विद्यालय भर्नामै लैंगिक विभेद

सामुदायिक विद्यालयमा भयावह बन्दै अनुपस्थित दर

रातोघर

 २०८१ जेष्ठ २१, सोमबार  मा प्रकाशित
४९१ पाठक संख्या


बाराको जीतपुरसिमरा उपमहानगरपालिकाभित्रका सामुदायिक विद्यालयका विद्यार्थीको विद्यालयमा अनुपस्थित दर चिन्ताजनक देखिएको छ ।

उपमहानगरपालिका अन्तर्गतका विद्यालयमा अध्ययनरत विद्यार्थीसंग गरिएको १६ दिने सर्वेक्षणले यहाँ शैक्षिक अवस्था कमजोर मात्र देखाएको छैन, विद्यालय भर्नामा लैंगिक विभेदसमेत देखाएको छ ।

सर्वेक्षणका अनुसार यहाँका सामुदायिक विद्यालयमा अध्ययनरतमध्ये ३६ दशमल ५ प्रतिशत विद्यार्थीहरु विद्यालयमा गयल हुने गरेको देखिएको छ । जबकी संस्थागत (निजी) विद्यालयमा यस्तो दर १४. ४४ प्रतिशत मात्र छ ।

उपमहानगरपालिकाको ५८ सामुदायिक र ४१ संस्थागत गरी ९९ विद्यालयमा अध्ययनरत १६ हजार ८५० विद्यार्थीसंग सर्वेक्षण गरिएको थियो । सर्वेक्षणले उपमहानगरपालिकाको शैक्षिक अवस्था निराशाजनक रहेको निष्कर्ष निकालेको छ । उपमहानगरपालिकामा ६१ वटा सामुदायिक र ४९ वटा निजी गरी ११० विद्यालय छन् ।

विट्स ल्याडर नामक संस्थाको प्राविधिक सहयोगमा भएकाे सर्वेक्षणको नतिजाअनुसार अभिभावकहरुले सरकारी भन्दा निजी विद्यालयमा छोरीलाई भर्ना गर्न कम रुचाउने पनि देखिएको छ ।

सामुदायिक विद्यालयमा ५४.७ प्रतिशत छात्रf अध्ययनरत छन् भने निजी विद्यालयमा ४४. २ प्रतिशत मात्र छात्रा भर्ना गरेको अध्ययनले देखाएको छ । यसले उपमहानगर क्षेत्रका नागरिकहरु छोरीलाईसरकारी विद्यालयमै पढाउनुपर्छ भन्ने मान्यताबाट अझैपनि ग्रसित रहेको देखाउँछ ।

सर्वेक्षणमा सिमरा, बकुलिया र डुमरवाना कलेजका १५० जना स्नातक तहमा अध्यनरत विद्यार्थी खटिएका थिए । प्रतिवेदनले विद्यालयभन्दा सरकारको लगानी रहेको सामुदायिक विद्यालयको अवस्था झनै कमजोर देखाएको छ । सामुदायिक विद्यालयका ८ हजार १८७ र निजी विद्यालयका ८ हजार ६६३ विद्यार्थी सर्वेक्षणमा सहभागी थिए ।

प्रतिवेदन अनुसार सामुदायिक र निजी विद्यालयको कक्षा ८ सम्म अध्ययनरत विद्यार्थीमध्ये ८२.८ प्रतिशत विद्यार्थीले कक्षा ३ को णित ज्ञानमध्येको भाग गर्ने सम्बन्धी समस्या समाधान गर्न नसकेको देखिन्छ । जसमध्ये पाँच कक्षामा अध्ययनरत २५ प्रतिशत र कक्षा ८ मा अध्ययनरत २७ प्रतिशत विद्यार्थीले मात्रै उक्त समस्या समाधान गर्न सकेका छन् ।

३ कक्षाको पाठ्यक्रम पनि जान्दैनन् ८ कक्षाका विद्यार्थी 

कक्षा ८ सम्मका ७७.६१ प्रतिशत विद्यार्थीले कक्षा ३ को पाठ्यक्रममा आधारित प्रश्नको जवाफ समेत दिन नसकेको प्रतिवेदनले उल्लेख गरेको छ । जसमध्ये कक्षा ५ को २९ प्रतिशत र कक्षा ८ को ४७ प्रतिशत विद्यार्थिले कक्षा ३ को पाठ्यक्रममा आधारित रहेर सोधिएका प्रश्नको जवाफ दिएको प्रतिवेदनले देखाएको छ ।

५ कक्षामा पढ्नेले चिन्दैनन् अंक र अक्षर 

प्रतिवेदनले कक्षा ५ मा अध्ययनरत विद्यार्थीले अक्षर र अंक समेत नचिन्ने गरेको तथ्यांक सार्वजनिक गरेको छ । जसमा निजी भन्दा सामुदायिक विद्यालयका विद्यार्थीको संख्या बढी छ ।

सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत ६.२० प्रतिशत विद्यार्थीले अंग्रेजी अक्षर र अंक चिन्दैनन् । यसमा निजी विद्यालयको प्रतिशत संख्या १.७८ छ । यस्तै सामुदायिक विद्यालयका ५.३० प्रतिशत विद्यार्थीले नेपाली अंक र अक्षर नचिन्दा निजी विद्यालयका ०.५३ प्रतिशतले नेपाली अंक र अक्षर नचिनेको देखिन्छ ।

कक्षा ५ मा अध्ययनरतमध्ये कथा पढेर जवाफ दिन सक्ने र गणितको भाग सम्बन्धी समस्या समाधान गर्न सक्ने विद्यार्र्थीको संख्या ५० प्रतिशत भन्दा कम छ । यो तथ्यांक सामुदायिक र निजी दुवैको हो भने यसमा सामुदायिक विद्यालयका विद्यार्थिको अवस्था थपै कमजोर पाइएको छ ।

अध्ययनमा समावेश भएका सामुदायिक विद्यालयको कक्षा ५ मा अध्ययनरत २०.३० प्रतिशत विद्यार्थीले मात्रै अंग्रेजी विषयको पाठ्यक्रममा रहेको कथा पढेर प्रश्नको जवाफ दिन सकेका छन् भने निजी विद्यालयमा अध्ययनरत ४९.३८ विद्यार्थीले सो जवाफ दिएका छन् ।

प्रतिवेदन अनुसार कक्षा ८ मा पढ्ने ०.८३ प्रतिशत सामुदायिक र ०.४५ प्रतिशत निजी विद्यालयका विद्यार्थीले अंग्रेजी अंक र अक्षर चिन्न नसकेको देखाएको छ । १.११ प्रतिशत सामुदायिक विद्यालय र ०.३० प्रतिशत विद्यार्थीले नेपाली विषयको अंक र अक्षर नचिनेको देखिन्छ ।

३६.८४ प्रतिशत सामुदायिक विद्यालय र ५१.२२ प्रतिशत निजी विद्यालयमा कम्प्युटर ल्याब भेटिएको छ । तीमध्ये केही विद्यालयको ल्याबका कम्प्युटर चल्ने अवस्थामा नरहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले निराश बनायोः मेयर पौडेल 

जितपुर सिमराका मेयर राजन पौडेलले सर्वेक्षणले देखाएको प्रतिवेदनको नतिजा निराशाजनक  रहेको बताए ।

प्रतिवेदन सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा पौडेलले उपमहानगरपालिकाभित्रको शैक्षिक अवस्थामा सुधार ल्याउन जरुरी रहेको बताए ।

‘सर्वेक्षणले शैक्षिक अवस्था कस्तो छ भन्ने देखाएको छ । प्रतिवेदन हेर्दा रुन मन लाग्ने छ’ पौडेलले भने ‘अब यसलाई सुधार गर्नका लागि सबैको सहयोग आवश्यक छ ।’

Write your Comment


लोककल्याणकारी विज्ञापन