घरैपिच्छे गलैंचा उद्योग , आम्दानीको बलियो माध्यम

पुष्पराज खतिवडा

 २६ जेष्ठ २०८१, शनिबार १०:२५  मा प्रकाशित
४७८ पाठक संख्या



बारा ।
जिल्लाको उत्तरी क्षेत्रका ग्रामिण वस्तीहरुमा घरैपिच्छेजसो गलैंचाका तान भेटिन्छन् । गलैंचा घरखर्चको बलियो माध्यम बनिरहेको पेशामा संलग्नहरु बताउँछन् । कतिपयले गलैंचाबाटै मनग्य आम्दानी समेत गरिरहेको बताए ।

जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ बंकुलका बिक्रम र सुनमाया भोलन दम्पतीले गलैंचा बनेर मासिक ३०/३५ हजार रुपैंया कमाउने गरेको बताए । फुर्सदको समयमा तानमा बस्ने गरेको सुनाउँदै भोलन दम्पतीले पुरै समय दिन सक्दा अझ बढी कमाई हुने सुनाउनु भयो । ।

उनीहरु आफुले बनेको गलैंचा काठमाण्डौंमा रहेका दिदिभिनाजुलाई बेच्छन् । आफुमात्रै नभएर गाउँमा अरु धेरैलाई गलैंचाका लागि चाहिने तान, धागो र औजारहरु दिने गर्दा रहेछन् । “हाम्रो माध्यमबाट गाउँमा ५० वटा भन्दाबढी घरमा गलैंचाका तान लागेका छन् । उहाँहरुले उत्पादन गर्ने गलैंचा हाम्रै माध्यमबाट काठमाण्डौं सम्म पुग्छ । आवश्यक धागो तान लगायतका सामाग्री र गलैंचाको रकम समेत त्यसै गरी आउँछ, ” बिक्रमले बताउनु भयो ।

जाँगर भएका फुर्सदिलाहरुका लागि यो पेशा बलियो आम्दानीको माध्यम बनिरहेको छ । विशेषगरी तामाङ्ग समुदायका माहिलाहरु गलैंचा बुन्ने पेशामा जोडिएर आम्दानी गरिरहेका छन् । कतिपयका दम्पतीनै संलग्न छन् ,भने कतिपयका श्रीमान् विदेशमा कमाउने श्रीमतीले घरमै गलैंचा बुनेर घरखर्च चउँने गर्दै आएको पाईएको छ ।

जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१७ जैतापुरकी चिन्क लामाका पति बैदेशिक रोजगारीका क्रममा देशबाहिर हुनुहुन्छ । उहाँले घरमा गलैंचा बुन्नेसँगै अन्य चारजनालाई काममा लगाउनु भएको छ । मेरो कमाईले घरखर्च राम्ररी चलेको छ । पतिको कमाई जोगिँदा आँटेका काम गर्न, कर्जा तिर्न र बालबालिकाको शिक्षामा सहज भैरहेको छ, लामाले बताउनु भयो ।

यस्तै सोही ठाउँका अमर लामा भनिने पासाङ्ग थिङ्ग तामाङ्गले घरमै साना ठुलागरी ८ वटा गलैंचाका तान चलाईरहेका छन् । स्थानिय महिलाहरुलाई गलैंचा निर्माणमा लगाउँदै धेरैलाई रोजगारी समेत दिँदै आएको उहाँले बताउनु भयो  । सोही पालिकाको जैतापुर, लामिडाँडा, रामनगर, सिमरा मात्रै नभएर कोल्हबी नगरपालिकाको वडा नं.८ नयाँबस्ती, निजगढ नगरपालिकाको वडा नं.१३ रतनपुर कुलियामा समेत गलैंचा ब्यवसाय गरिरहेको सुनाउनु भयो ।

बारामा ७ सयबढी परिवार गलैंचा ब्यवसायमा जोडिएका छन् । भने यहाँबाट मासिक दसौं लाखको गलैंचा विक्री हुने गरेको अनुमान छ । मेहनत गर्न सक्दा महिनाको ५०/६० हजार रुपैंया कमाई हुन्छ । गलैँचाका लागि आवश्यक धागो,तान, उपकरण सबै लगानी साहुले गर्छन् । हाम्रो काम बुन्ने मात्रै हो । जती छिटो बन्न सकियो ,त्यतिनै कमाई हुने पनि हो । अझ बुट्टेदार अनी आकर्षक बनाउँन सके झनै बढी कमाई हुन्छ, तामाङ्गले भन्नु भयो।

ग्रामिण क्षेत्रमा उत्पादन हुने गलैंचाको बजार काठमाण्डौं हो । यहाँ गाउँघरबाट बनेर आएका गलैंचालाई थप आर्कषक र विक्रि योग्य बनाई विदेश पठाउने गरिन्छ । नेपालमा उत्पादन हुने गलैंचाको मुख्य बजार चाईना भएको तामाङ्गले बताउनु भयो ।

Write your Comment