क्याम्पस प्रमुख कुशवाहाको गोली हानी हत्या गरेको अभियोगमा ७ जना पक्राउ

पुष्पराज खतिवडा

 १२ असार २०८१, मंगलवार २२:०१  मा प्रकाशित
६२६ पाठक संख्या



बारा :
क्याम्पस प्रमुखको गोली हानी हत्या गरेको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ७ जानालाई पक्राउ गरी अनुसन्धान सुरु गरेको जनाएको छ । प्रहरीले मंगलबार प्रेस नोट जारी गर्दै गोली लगायतका हातहतियार सहित पक्राउ परेका तल उल्लेखित ब्यक्तिहरु बारे जानकारी गराएको हो ।

गत जेष्ठ ३२ गते साँझ सवा ५ बजे जिल्लाको आदर्शकोतवाल गाउँपालिका वडा न.२ खजुरीया निवासी रामराजा बहुमुखी क्याम्पस कलैयाका प्रमुख ५० बर्षका हरि भुषण प्रसाद कुशवाहाको गोलीहानी हत्या भएको थियो ।

मोटरसाइकलमा आफ्नो खजुरियाबाट कलैया तर्फ आउने क्रममा सोही पालिका वडा न.३ बतरा टोल नजिकै अपरचित व्यक्तिहरुको समुहले कुशवाहालाई गोली हानी घाईते बनाएका थिए । घाईते कुशवाहालाई तत्काल बयोधा अस्पताल विरगंज लगिएकोमा उपचारको क्रममा उहाँको मृत्यू भएको थियो ।

उक्त घटनाको अनुसन्धानको क्रममा संलग्न देखिएका शंकित र मृतकका आफन्तको किटानी जाहेरी दरखास्तमा समेत उल्लेखित ७ जनालाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ । पक्राउ परेका ब्यक्तिहरुका साथबाट प्रहरीले ६ राउण्ड गोलि सहित हातहतियार लगायतका दशीका समानहरु बरामदको जनाएको छ ।

निजहरु उपर कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दा दर्ता भई जिल्ला अदालत बाराबाट ६ दिनको म्याद थप भई अनुसन्धान भई रहेको जनाईएको छ । यस्तै उक्त घटनामा संलग्न अन्य फरार रहेकाहरुको खोजतलास थप अनुसन्धान भैरहेको बारा प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानले जारी गर्नुभएको विज्ञप्तीमा भनिएको छ ।

पक्राउ परेका मानिसहरुको विवरण निम्न छ ।

१) जिल्ला बारा आदर्शकोतवाल गा.पा.वडा न.२ खजुरिया टोलमा बस्ने महन्थ महतोको छोरा वर्ष ३२ को अवधलाल प्रसाद कुशवाहा,

२) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने जितन महतोको छोरा वर्ष २९ को चांदसी प्रसाद कुशवाहा

३) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा. न.२ बतरा टोलमा बस्ने प्रेमलाल साहको छोरा वर्ष २७ को चुल्हाई भन्ने श्रवण कुमार साह

४) जिल्ला बारा कलैया उ.म.न.पा.वडा न.१० मटिअर्वा टोलमा बस्ने मोहन रामको छोरा वर्ष ५० को आम्रपाली भन्ने ब्रहमदेव राम

५) जिल्ला बारा करैयामाई गा.पा. वडा न.७ पिपरा टोल मा बस्ने महादेव साद थारुको छोरा वर्ष ५० को मोतिलाल चौधरी

६) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने सियाराम राउत कुर्मीको छोरा वर्ष ३४ को राधेश कुमार पटेल

७) जिल्ला बारा आदर्शकोतवाल गा.पा. वडा न.२ खजुरिया टोलमा बस्ने रामचन्द्र राउत कुर्मीको छोरा वर्ष ५४ को विनोद राउत कुर्मी.

पक्राउ परेका ब्यक्तिका साथबाट बरामद भएका सामानहरुः–

१) बा.३२ प ७०५५ नं. को एफ जेड मोटरसाइकल थान–१
२) ना.५९ प ४७८९ न. को त्ख्क् मोटरसाइकल–१
३) ना.३३ प ५४६२ नम्बरको २२० ऋ।ऋ। को पल्सर मोटरसाइकल थान–१
४) गोली ६ राउण्ड ।
५) बिभिन्न मोवाईल, ल्यापटप र नेपाली तथा भारतीय सिमकार्डहरु ।

Write your Comment