सिजनमा सँधै बारामा रसायनिक मलको हाहाकार

पुष्पराज खतिवडा

 २७ श्रावण २०८१, आईतवार १३:०८  मा प्रकाशित
२५४ पाठक संख्या



बारा: सरकारले कृषि कार्यमा प्रयोग हुने रसायनिक मल प्रयाप्त छ भनेर प्रचार गर्ने गरेको भएपनि बाराका किसानले भने सिजनमा सधै मल अभावको सामना गर्दैआएका छन । यतिबेला खेतमा धान गोडेर युरिया हाल्नु पर्ने समय हो । तर बाराका किसान रसायनिक युरिया मलका लागि छटपटाई रहेका छन् । किसानले युरिया मल नपाएको गुनासो गरेका छन ।

रसायनिक मल बिक्री गर्ने डिलर तथा सहकारीहरुमा युरिया मल छैन । केही सहकारीमा डिएपी मात्रै पाइने गरेको किसानहरु बताउँछन् । धानमा मल छर्ने बेला भइसक्दा पनि बजारमा युरिया नपाइएको बारा करैयामाई गाउँपालिका ५ का किसान रामलाल चौधरीले गुनासो गर्नुभयो ।

जिल्लामा चौधरी जस्तै धेरै किसानको गुनासो यस्तै छ । सरकारले कृषि सामग्री कम्पनी र साल्ट टेडिङ्ग कम्पनी मार्फत अनुदानको मल बिक्री वितरण गर्दै आएको छ । तर कम्पनीको गोदाममा यतीबेला डिएपी मात्रै थुप्रिएको छ ।

दुबै कम्पनीको डिलर स्वीकृत लिएर रसायनिक मल बिक्री वितरण गर्दैआएको जीतपुरसिमरा उपमहानगरपालिका १८ मा रहेको साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष नयनकला खड्काले पनि डिलरहरुले किसानलाई चाहिने बेलामा जहिले पनि युरिया र डिएपी मल उपलब्ध गराउन नसकेको बताउनुभयो । ‘धान रोपाइँको बेलामा डिएपी जरुरी थियो, त्यतिबेला किसानलाई डिएपी छैन, युरिया लैजानुस् भन्थे, उहाँले भन्नुभयो, अहिले युरिया चाहिएको बेला युरिया छैन, डिएपी लैजानुस भन्छन् ।’

यसरी जहिले पनि मलको अभाव सृजना गरेर किसानलाई झुक्याउने र अल्झाउने काम हुदैआएको उहाँले बताउनुभयो । मलको आपूर्ति गर्ने कम्पनीहरुले सिजनमा आवश्यकताअनुसार मल उपलब्ध गराउन नसकेकाले सधै हाहाकार हुने गरेको उहाँको बुझाइ छ ।

जिल्लामा किसानले समयमा मल नपाउँदा भारतबाट चोरी निकासी भएर आउने कमसल मल बढी मुल्यमा किनेर धानमा हाल्नुपर्ने बाध्यता बनेको छ । कृषि ज्ञान केन्द्र बाराकाअनुसार बाली र सिजनअनुसार बारा जिल्लालाई वार्षिक ६१ हजार मेट्रिक टनभन्दा बढी डिएपी, युरिया र पोटाँस मलको आवश्यक छ । तर वार्षिक रुपमा करिब २८ प्रतिशत मात्रै आयात हुँदै आएको ज्ञान केन्द्र प्रमुख राजनारायण साहले जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७९-०८० मा मागको २०.६ प्रतिशत अर्थात १२ हजार ६२७.९५ मेटिक टन मल बारामा भित्रिएको थियो । गत वर्ष केही वृद्धि भएर २८ प्रतिशत पुग्दा १६ हजार २३७ मेटिक टन मल बाराका किसानले पाएको तथ्याङ्क ज्ञान केन्द्रले उपलब्ध गराएको छ ।धान सबैभन्दा धेरै मलको आवश्यकता पर्ने बाली हो ।

जिल्लामा हिउँदे र वर्षे गरी दुई सिजनमा ६२ हजार २० हेक्टर जमिनमा धान खेती हुनेगरेको छ । यस बालीका लागि मात्रै १५ हजार ६६ मेटिक टन युरिया, ५ हजार ३९१ मेट्रिक टन डिएपी र ४ हजार ९२ मेट्रिक टन पोटाँस आवश्यक पर्ने गरेको ज्ञान केन्द्र प्रमुख साहले बताउनुभयो ।

‘पहिलो कुरा त देशमा मलको आयात नै आवश्यकता भन्दा कम छ, उहाँले भन्नुभयो, आएको मल पनि नेपाल सरकारका आधिकारिक बिक्रेताहरुबाट सिजन अनुसार आवश्यकता व्यवस्थापन हुन सकेको छैन ।’ आयातसंगै वितरण कार्यमा पनि व्यवस्थापन गर्नसके किसानलाई केही राहत पु-याउन सकिने उहाँको भनाई छ ।

Write your Comment