जीतपुरसिमरामा २२ करोड ६४ लाखबढी बेरुजुले देखायो सम्भावित भ्रष्टाचारको संकेत

आ.व. २०८०/०८१ को महालेखा प्रतिवेदन अनुसार फछ्यौंट ५.५ लाख मात्र

रातोघर

 ३ असार २०८२, मंगलवार १०:११  मा प्रकाशित
१८१ पाठक संख्या



जीतपुर । जीतपुरसिमरा उपमहानगरपालिकाको आर्थिक वर्ष २०८०/०८१ को महालेखा परीक्षण प्रतिवेदनले स्थानीय तहमा वित्तीय अनुशासनको गम्भीर समस्या देखाएको छ । सार्वजनिक लेखा परीक्षण प्रतिवेदनअनुसार उपमहानगरपालिकामा २२ करोड ६४ लाख रुपैयाँभन्दा बढी बेरुजु देखिएको छ ।

बेरुजुमध्ये उक्त आ.ब.मा फछ्र्यौट भएको रकम केवल ५ लाख ५० हजार ९ सय ६८ रुपैयाँ मात्र रहेको छ । बाँकी २२ करोड ५६ लाख रुपैयाँभन्दा बढी अझै बेरुजु फछ्र्यौट हुन सकेको छैन । महालेखाको प्रतिवेदनले कागजात नपुगेको रकम १३ करोड २५ लाख रुपैयाँभन्दा बढी देखाएको छ भने अशुली गर्नु पर्ने रकम १ करोड ५४ लाख रुपैयाँभन्दा बढी रहेको छ ।

अनियमित रूपमा खर्च गरिएको रकम पनि १ करोड १३ लाख रुपैयाँभन्दा बढी देखिन्छ । महालेखा प्रतिवेदनले देखाएको विवरणले उपमहानगरपालिकामा सरकारी रकमको सदुपयोग र पारदर्शितामा गम्भीर प्रश्न उठाएको छ ।

भुक्तानी भई सकेको तर आवश्यक कागजात नपुगेको, असुली नभएको रकम र अनियमित खर्चका कारण लेखापरीक्षण प्रतिवेदनले नगरप्रशासनप्रति उत्तरदायित्व र जवाफदेहिताको मागसमेत गरेको छ । स्थानीय तहमा यति ठूलो परिमाणमा बेरुजु देखिनु आफैंमा चिन्ताजनक अवस्था हो ।

यसले नीतिगत, व्यवस्थापकीय कमजोरी र सम्भावित भ्रष्टाचार समेतको संकेत गर्छ । जनताको करबाट संकलित सार्वजनिक रकमको उचित सदुपयोग र पारदर्शिता सुनिश्चित गर्न सम्बन्धित निकायको तत्काल ध्यान जानु आवश्यक छ ।

Write your Comment