


ट्रक यातायात व्यवसायीहरूको केन्द्रीय संगठन महासंघको सम्पन्न महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचन परिणामअनुसार अध्यक्ष पदमा उम्मेदवार बानियाँ विजयी भएका छन्। बानियाँले १ सय १२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी कार्की ७७ मतमा सीमित भए।
महासंघको वरिष्ठ उपाध्यक्ष पदमा विष्णुप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्ष पदका लागि भएको प्रतिस्पर्धामा किसान गुरुङले १ सय ६४ मत र विद्यापति उपाध्याय घिमिरेले १ सय ८ मत प्राप्त गर्दै विजयी भए।
महासचिव पदमा बद्रीप्रसाद चौलागाईं निर्विरोध निर्वाचित भएका छन्। उपमहासचिव पदमा मेघराज सिग्देल विजयी भएका छन्। उनले ९७ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अर्जुनबहादुर सापकोटाले ८९ मत प्राप्त गरे।
सचिव पदमा उमेशचन्द्र मजगैयाँ र गंगाबहादुर खड्काले समान ९५–९५ मत प्राप्त गरेपछि दुवैले सहमतिमा कार्यकाल आधा–आधा समय कार्यालय सञ्चालन गर्ने निर्णय गरेका छन्।
कोषाध्यक्ष पदमा रुमाखर गौतमले १ सय ३२ मतसहित जित हासिल गर्दा उनका प्रतिस्पर्धी टिकाराम गौतमले ६० मतमा सीमित भए। सह–कोषाध्यक्ष पदमा सुमन सापकोटा १ सय ७ मत प्राप्त गर्दै निर्वाचित भएका छन्।
महाधिवेशनले सातै प्रदेशका संयोजकसहित १६ सदस्यीय नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको छ। प्रदेश संयोजकमा कोशी प्रदेशबाट विनोद खड्का, मधेस प्रदेशबाट रामबहादुर दुवाडी, बागमती प्रदेशबाट सूर्यबहादुर श्रेष्ठ, गण्डकी प्रदेशबाट केदारनाथ घिमिरे, लुम्बिनी प्रदेशबाट यामप्रसाद पाण्डे, कर्णाली प्रदेशबाट चेतन थानी र सुदूरपश्चिम प्रदेशबाट मोहनसिंह साउत निर्विरोध निर्वाचित भएका छन्।
महाधिवेशनमा महासंघमा आबद्ध देशभरका झण्डै पाँच सय ट्रक यातायात व्यवसायीहरूको सहभागिता रहेको थियो।





Write your Comment