भुर्तेलको विस्फोटक शतक, मलेसियासामु नेपालद्वारा २७६ रनको विशाल लक्ष्य

रातोघर

 २०८३ जेष्ठ २१, बिहिबार  मा प्रकाशित
५ पाठक संख्या


काठमाडौं । सिंगापुरमा जारी एसियन गेम्स क्रिकेट छनोट प्रतियोगिताअन्तर्गत नेपालले मलेसियासामु जितका लागि २७६ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २७५ रनको कीर्तिमानी योगफल तयार गरेको हो। नेपालको इनिङ्समा ओपनर कुशल भुर्तेल चम्किए। उनले केवल ५४ बलमा १२६ रनको विस्फोटक शतकीय पारी खेल्दै नेपाली ब्याटिङलाई बलियो आधार प्रदान गरे। आफ्नो इनिङ्समा उनले १४ चौका र ८ छक्का प्रहार गरे।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा भुर्तेलको यो तेस्रो शतक हो। उनको आक्रामक प्रदर्शनका कारण मलेसियाली बलरहरू दबाबमा परेका थिए।

यस्तै, अर्का ओपनर आसिफ शेखले पनि उत्कृष्ट प्रदर्शन गर्दै २४ बलमा ६८ रन जोडे। उनले ५ चौका र ७ छक्का प्रहार गर्दै रनगतिको रफ्तार बढाए। मध्यक्रममा दीपेन्द्र सिंह ऐरीले ११ बलमै ३१ रनको ताबडतोड पारी खेले। उनले १ चौका र ४ छक्का प्रहार गरे।

मलेसियाका लागि बलिङतर्फ विरनदीप सिंहले ३ विकेट लिए भने सिद अजिज र विजय उन्नीले समान २–२ विकेट हात पारे।

नेपाल र मलेसिया दुवै टोली यसअघि नै एसियन गेम्सका लागि छनोट भइसकेका छन्। यद्यपि, यस खेलमा नेपालले ब्याटिङतर्फको शक्तिशाली प्रदर्शन गर्दै आफ्नो दबदबा कायम राखेको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन