

सुर्खेत । कर्णाली प्रदेश सभाको बैठक बुधबार पूर्वमुख्यमन्त्री राजकुमार शर्माको विरोधका कारण अवरुद्ध भएको छ। नीति तथा कार्यक्रममाथि छलफलका लागि बोलाइएको बैठकमा शर्माले राष्ट्रियताको विषयलाई प्रमुख मुद्दा बनाउँदै संसद् अवरोध गरेका हुन्।
बैठक सुरु हुनेबित्तिकै बोल्दै शर्माले केन्द्रमा प्रधानमन्त्री बालेन साहले भारतको भूमिसम्बन्धी दिएको अभिव्यक्तिबारे प्रदेश सभामा कुनै छलफल नभएको भन्दै आपत्ति जनाए। ‘यस्ता राष्ट्रियतासँग सम्बन्धित विषयमा गम्भीर छलफल हुनुपर्थ्यो,’ शर्माले भने, ‘तर त्यसलाई बेवास्ता गर्दै छापामार शैलीमा नीति तथा कार्यक्रम प्रस्तुत गरियो। राष्ट्र नै सुरक्षित र सुदृढ नभए नीति तथा कार्यक्रमको कुनै अर्थ रहँदैन।’
शर्माले आफ्नो माग पूरा नभएसम्म बैठक सञ्चालन हुन नदिने अडान लिएपछि प्रदेश सभा बैठक प्रभावित भएको थियो। सभामुख नन्दा गुरुङले सरकारको आधिकारिक धारणा आउने आश्वासन दिँदा पनि शर्मा आफ्नो अडानबाट पछि हटेनन्।
लगातार ३८ मिनेटसम्म संसद्मा उभिएर विरोध जनाएका शर्माको अडान कायम रहेपछि सभामुख गुरुङले बैठक १५ मिनेटका लागि स्थगित गरेकी थिइन्।
उल्लेखनीय छ, नेकपाले कारबाही गरेपछि अदालत पुगेका शर्मालाई अदालतले प्रदेश सभा सदस्यको हैसियत यथावत् कायम राख्ने आदेश दिएको थियो।





Write your Comment