

श्रावण ३, धादिङ :
धादिङको गङ्गाजमुना गाउँपालिकाका व्यापारीसँग कर कार्यालयका कर्मचारी भनेर रकम सङ्कलन गर्ने दुई जनालाई प्रहरीले सोमबार पक्राउ गरेको छ । कर कार्यालयका कर्मचारी बताउँदै कर सङ्कलन गर्न गाउँ आएको बताउने दुई जनालाई कर रकम सङ्कलन गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएके छ ।
पक्राउ पर्नेमा देव अधिकारी र मैना सापकोटा रहेका छन् । प्रहरीका अनुसार, उनीहरुले गाउँकै एक जना पार्टीका नेताले बोलाएर व्यापारीसँग कर उठाएर लगी कर तिरिदिन भनेर गाउँ आएको र वार्षिक रूपमा कर तिरिदिनका लागि पसलेसँग रकम उठाएको बताएका थिए ।
रकम लिएपछि उनीहरुले ओम शिवशक्ति सेल्स सेटरको नगदी रसिद दिएका थिए । करदाता सेवा कार्यालय गल्छीका कार्यालय प्रमुख प्रेम श्रेष्ठले कार्यालयले बजारमा आफैँले नगद नउठाउने र कारोबारको विवरणअनुसार बैंकमार्फत मात्र कर लिने गरेकाले त्यसरी कर उठाउनेलाई कारबाही हुनुपर्ने बताए ।
प्रहरीले पक्राउ गरेपछि मात्र आरोपितले पसलेलाई कर तिर्न जान टाढा हुने भएकाले आफूहरूले साना व्यापारीसँग कर सङ्कलन गरी लगेर कर तिरिदिने उद्देश्यले रकम लिएको बताएका छन् ।





Write your Comment