

जनकपुरधाम ।
बासी भात खान दिएको निहुँमा सौतेनी आमाको हत्या गरेको आरोपमा एक जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ बस्ने १९ वर्षीय प्रेमकुमार भगत रहेका छन् । पक्राउ परेका युवकलाई आजै धनुषा प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
भगतलाई उनकी कान्छी आमा ३९ वर्षीया मिरा देवी भगतले बासी भात खान दिएको रिसको झोकमा विवाद भएको थियो । पछि उनले काठको चिरपट प्रहार गरी आमाको हत्या गरेको आइतबार पत्रकार सम्मेलनको आयोजना गरी धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिए ।
‘आमासँग खाना माग्दा बासी भात खान दिएको र आफू बासी भात खान्न बरुहोटेलमा गएर खाना खान्छु भन्दा आमाले आफूलाई बुवाको समेत नाम जोडेर अनेक प्रकारको अपशब्द प्रयोग गरी गालीगलौज गर्दा आवेशमा आएर आमालाई धक्का दिँदा आमा भुईँमा लडेको कुरा प्रेमले स्वीकार गरेको छ’, उनले भने ।
तत्पश्चात् आमाले आफूलाई त्यहाँ रहेको काठको चिरपटले हान्न खोज्दा आफूले सो चिरपट खोसेर आमाको पिठ्युँमा हान्दा टाउकोमा लागेर सोही ठाउँमा आमाको मृत्यु भएको कुरासमेत उनले बताएको एसपी खड्काले जानकारी दिए । मिरा देवीको मृत्यु भए लगत्तै आत्तिएर प्रेमले उनको शरीरमा आगो लगाई जलाएको प्रहरीले जनाएको छ । उनका अनुसार शनिबार दिउँसो बासीभात खाने विषयमा विवाद भएको थियो ।
मीरादेवीको घटनास्थलमै मृत्यु भएपछि उनले घटनालाई ढाकछोप गन शवलाई जलाइदिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । पक्राउ परेका प्रेमले आफ्ना बुवासँगै बसेर राजमिस्त्रीको काम गर्दै आएका थिए ।
मृतक महिला धनुषाको गणेशमान चारनाथ नगरपालिका–४ स्थित अशोक जैसवालको घरमा डेरा गरी बस्ने भारतको वेतिया जिल्ला नरकटियागंज थाना केयुनिया बस्ने राजु भगतकी कान्छी श्रीमती हुन् ।





Write your Comment