

हामीले दैनिक खाने नुनलाई रसायनशास्त्रमा ‘सोडियम क्लोराइड’ भनिन्छ । अर्थात्, नुन दुईवटा तत्त्व मिलेर बन्ने गर्छ, जसमा सोडियम करिब ४० प्रतिशत र क्लोरिन ६० प्रतिशत हुन्छ । नुनमा पाइने यो सोडियम तत्त्वको थोरै मात्रा हाम्रो शरीरका लागि आवश्यक पनि पर्छ । रगतमा प्लाज्माको मात्रालाई सन्तुलित बनाउन, अम्ल क्षारलाई सन्तुलनमा राख्न, न्युरो-सन्देशलाई शरीरमा प्रसारण गर्न तथा कोषको सामान्य कार्य प्रणालीका लागि सोडियम आवश्यक पर्छ ।
सोडियम तत्त्व नुनबाहेक अरु प्राकृतिक खाना जस्तै; दूध, मासु, माछा, रोटी तथा स्न्याक्समा पनि पाइन्छ । हाम्रो शरीरलाई दैनिक दुई ग्राम सोडियम भए पर्याप्त हुन्छ । अर्थात् यो करिब पाँच ग्राम नुन खाएपछि पूर्ति हुन्छ । यो मात्रा भनेको सानो चियाचम्चा बराबर हुन आउँछ । दैनिक पाँच ग्रामभन्दा बढी नुन लिइयो भने यसमा पाइने सोडियमले उच्च रक्तचाप र मुटुको रोगको जोखिम बढाउँछ । किनकि, सोडियम र रक्तचापको बीचमा सम्बन्ध छ । यसले मिर्गाैलासँग सम्बन्धित रोगको जोखिम पनि बढाउँछ ।
त्यसैले अमेरिकाको मुटुसम्बन्धी सल्लाह दिने निकायले दैनिक १ दशमलव ५ ग्राम मात्रै सोडियम लिन सुझाएको छ । विश्व स्वास्थ्य संगठनले दैनिक पाँच ग्रामभन्दा कम नुन ग्रहण गर्न सुझाव दिएको छ । यदि यो सझावअनुसार नुन लिने हो भने उसकै शब्दमा, ‘विश्वमा वार्षिक २५ लाख जनसंख्यालाई मृत्युबाट बचाउन सकिन्छ ।’
त्यसैले नुनको मात्रा घटाउनु राष्ट्रका लागि नागरिकलाई स्वस्थ बनाउने एक मितव्ययी तरिका हो । विश्वमा तयारी खानेकुरा, शहरी जीवनशैलीले शरीरमा नुनको मात्रा बढाइरहेको छ । बाेसाे, नुन र चिनीको उच्च सेवनले मानिसको स्वास्थ्यलाई बिगारिरहेको छ । यसको सट्टामा पोटासियम पाइने खानेकुराको मात्रा घट्दै जाने हो भने यसले स्वास्थ्यलाई झनै असन्तुलित बनाउँछ । किनभने फलफूल र तरकारीमा पाइने पोटासियमले रक्तचाप घटाउन मद्दत गर्छ । सोडयम र पोटासियमले मुटुका लागि विपरीत धारको काम गर्ने गर्छन् ।





Write your Comment