१०० किलो सुन प्रकरण : यी हुन् पक्राउ परेका ६ जना (नामावलीसहित)

रातोघर

 २०८० श्रावण ४, बिहिबार  मा प्रकाशित
६१७ पाठक संख्या


काठमाडौँ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालय अगाडिबाट हिजो​ बरामद भएको एक क्वीन्टल बढी सुन भित्र्याउने रेडी ट्रेड प्रालिले पछिल्लो केही महिनाको अवधिमा दर्जनौँ पटक सामान आयात गरेको भेटिएको छ।

यसपाली उसले दुई वटा प्रज्ञापनपत्रमार्फत स्कुटरको ‘ब्रेक शु’ भित्र लुकाएर सुन ल्याएको थियो। यसअघि तीन महिनाको अवधिमै झण्डै ३० पटकभन्दा बढी सामान आयात भएको देखिएको छ।

रेडी ट्रेड प्रालि २०७९ चैतमा आन्तरिक राजस्व कार्यालय महाराजगञ्जमा दर्ता भएको संस्था हो। प्रालिको ठेगाना बुढानिलकण्ठको पासिकोट उल्लेख रहेको एक अनुसन्धान अधिकृतले बताए। राजस्व अनुसन्धान विभागले पक्राउ परेकामध्ये एक जना त्यही प्रालिका सञ्चालक छन्।

यी हुन् पक्राउ परेका ६ जना 

सुन तस्करी प्रकरणमा पक्राउ परेकामा सुन लैजान प्रयोग भएको ट्यक्सीका चालक अशोक राना मगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलिप भूजेल र सहयोगीहरु हर्कराज राई, रामकुमार भूजेल र थुक्पिन छिरिङ रहेका छन्।

उनीहरुमाथि आवश्यक अनुसन्धानका लागि अदालतबाट म्याद लिने प्रक्रिया शुरु भएको विभागले जनाएको छ। विभागको टोली थप व्यक्ति पक्राउका लागि परिचालन भएको पनि जनाइएको छ। अहिले सुन जोख्नका लागि तक्सार विभागमा लगिएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban