

वीरगञ्ज ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तह दोस्रो वर्षको परीक्षामा चिट चोर्न सहयोग गरेको आरोपमा वीरगञ्जबाट दुई जना पक्राउ परेका छन् ।वीरगञ्ज महानगरपालिका – ३ बिर्तास्थित श्री त्रिजुद्ध रघुवीर राम महावीर प्रसाद माध्यमिक विद्यालयमा जारी बीबीएस दोस्रो वर्षको परीक्षा दिइरहेकी आफ्नो बुहारीका लागि चिट लिएर जाने र परीक्षा हलसम्म चिट पुर्याउन सहयोग गर्ने दुई जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा मोहन प्रसाद यादव र अनिल कुमार स्वर्णकार रहेको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विदुर प्रसाद सिवाकोटीले बताए । इन्स्पेक्टर सिवाकोटीका अनुसार परीक्षामा सहभागी बुहारीका लागि उत्तर लेखेको कागजसहित दुवैलाई प्रहरीले पक्राउ गरेको थियो ।
यादवले चिट लेखिएको कागज लगेर स्वर्णकारलाई दिँदै गरेको अवस्थामा उनीहरूलाई रङ्गे हात पक्राउ गरिएको इन्स्पेक्टर सिवाकोटीले यात्रा डेलीलाई बताए । उनका अनुसार स्वर्णकार त्रिजुद्ध स्कुलमै कार्यरत शिक्षक हुन् भने हाल परीक्षामा पर्यवेक्षकका रूपमा खटेका छन् । त्यस्तै यादव ठाकुरराम बहुमुखी क्याम्पसको पूर्व कर्मचारी हुन् ।परीक्षामा चिट चोर्ने क्रममा पक्राउ परेकाहरूको विषयमा बुझ्न त्रिजुद्ध स्कुलका प्रधानाध्यापक नवीन मिश्रसँग बुझ्न सम्पर्क गर्दा उनले फोन उठाएनन् ।





Write your Comment