होटल इच्छामा संचालित क्यासिनो नियम विपरित, लाखौँ राजश्व तिर्न बाँकी

रातोघर

 २०८० माघ ४, बिहिबार  मा प्रकाशित
१७०१ पाठक संख्या


सिमरा ।

बाराको सिमरामा रहेको होटल इच्छाको परिसरमा संचालित क्यासिनो नियम विपरीत संचालनमा रहेको पाइएको छ ।

काठमाण्डौ–२६ का सन्जोग विक्रम कुँवरका नाममा दर्ता कायम रहेको स्माइल कलेक्सन प्रालिले संचालन गरेको सो क्यासिनो कम्पनीले आधुनिक मेसिन तथा उपकरणको माध्यमबाट मात्रै क्यासिनो खेल खेलाउने अनुमति लिएर उपकरण प्रयोग नै नगरी अनधिकृत खेल खेलाउने गरेको पाइएको छ ।

आर्थिक वर्ष २०७४/०७५ मा पर्यटन बिभागबाट मिनि क्यासिनोको अनुमति पाएको सो क्यासिनो कम्पनीले सिमावर्ती भारतियहरुलाई मेसिन प्रयोग नगरी अनधिकृत रुपमा खेल खेलाउने गरेको स्रोतको दावी छ । क्यासिनोले रोलेट, किट्टी, फलास लगाएतका मेनुअल खेल खेलाउने गरेको बताइएको छ ।

क्यासिनो नियमावली २०७० को नियम ३४ बमोजिम क्यासिनो कारोवारको प्रतिवेदन सम्वन्धित निकायलाई बुझाउनुपर्ने भएपनी सो स्माइल कलेक्सन प्रालिले सोको वेवास्ता गरी शक्ति र राजनैनितिक आडमा कुनैपनी सुचना अध्यावधिक नगरेको पाइएको छ ।

पर्यटन बिभागलाई तिर्नुपर्ने रोयल्टी बाँकी

आर्थिक वर्ष २०८०/८१ को पौष मसान्तभित्रै बिभागलाई बुझाउनुपर्ने रोयल्टी बुझाउन बाँकी देखिएको छ ।

कुनैपनी क्यासिनो कम्पनीले संचालनको अनुमती दिने पर्यटन बिभागलाई वर्षको तिन किस्तामा रोयल्टी बुझाउनुपर्ने नियम छ । सो रकम हालसम्म समेत बुझाउन बाँकी रहेको बिभागका निर्देशक काली बहादुर भुजेलले जानकारी दिए ।

‘स्माइल कलेक्सनले पौषभित्रै बुझाउनु पर्ने ४० प्रतिशत रोयल्टी बुझाउन आएको छैन, प्रायले बुझाइसकेका छन् ।’ , उनले भने, ‘अव १५ प्रतिशत जरिवाना समेत लिएर रोयल्टी लिन्छौँ, दोश्रो किस्ता समेत बुझाउन नआए अनुगमन गरी कारवाही गछौँ । ’

उनले नियम बिपरित आधुनिक मेसिन प्रयोग नगरी खेल खेलाएको बारे बिभागको ध्यानाकर्षण भएको भन्दै सो बारे तुरुन्त अध्ययन अनुगनम गर्ने समेत बताए ।

यसैगरी कानुनतहः कुनै खेलाडीले क्यासिनोबाट जितेको रकम भुक्तान गर्नुअघि जितेको रकमबाट प्रचलित कानुन बमोजिम लाग्ने कर कट्टी गरेर मात्रै रकम भुक्तान गर्नुपर्ने भएपनी सो रकम समेत कम्पनीले बुझाएको छैन ।

उपमहानगरको मनोरञ्जन कर तिर्न बाँकी

यसैबिच सो क्यासिनो कम्पनीले जीतपुरसिमरालाई बुझाउनुपर्ने मनोरञ्जन कर समेत तिर्न बाँकी रहेको पाइएको छ । गत आर्थिक बर्षदेखीकै कर समेत तिर्न बाँकी राखी सो क्यासिनो हाल संचालनमा छ ।

क्यासिनोमा प्रवेश गर्ने हरेक खेलाडीले दिने प्रवेश शुल्कको ५ प्रतिशत रकम उपमहानगरलाई तिर्नुपर्ने व्यवस्था रहेको उपमहानगरका राजश्व शाखा प्रमुख रमेश सुवेदीले बताए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्षदेखीकै लाखौँ रकम बुझाउन बाँकी रहेको छ । सो क्यासिनालाई पटक–पटक ताकेता पत्र पठाउँदा समेत रकम बुझाउन नआएको सुवेदीले जानकारी दिए ।

उपमहानगरले करको दायरालाई फराकिलो बनाउँदै आर्थिक वर्षको पौष मसान्तमा मात्रै करिव ११ करोड राजश्व संकलन गरेको भएपनी ठुला प्रतिष्ठानहरुको लाखौँ रकम तिर्न अझै बाँकी देखिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban