जीतपुरसिमराका सुत्केरी गाईभैसीलाई निःशुल्क खुराकी

पुष्पराज खतिवडा

 २०८१ बैशाख १६, आईतबार  मा प्रकाशित
६६९ पाठक संख्या


बारा ।
जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाले पालिका भित्रका किसानले पालेका सुत्केरी गाईभैसीका लागि निःशुल्क खुराकी वितरण गर्ने गरेको छ ।
गत चैत्र ७ गतेबाट पालिका भित्रका गाईभैसी सुत्केरी हुँदा एकसाताका लागि आवश्यक भिटामिन,मिनरल लगायत सामाग्री किसानलाई निःशुल्क वितरण सुरु गरेको हो ।
गाईभैसी सुत्केरी हुँदा मिल्क फिवर लगायतका समस्याको संभावना अत्याधिक हुने भएकाले सोको रोकथामका लागि पालिकाले एकहजार रुपैंया बराबरको भिटामिन, मिनरल(पोषक तत्व) र लिभर टोनिक निःशुल्क वितरण गरेको हो ।
यस अवधिमा पालिकाका ४३८ गाईभैसि पालक २८८ कृषकले यो सुविधाको सदुपयोग गरेको जीतपुरसिमरा उपमहानगरपालिका पशुपन्छी ब्यवसाय प्रवर्धन शाखाका प्रमुख पशु चिकित्सक डा. सुभाष झाले बताए ।
यो सुविधा लिनेको संख्या आगामी असार मसान्त सम्म एकहजार नाघ्ने अनुमान गरिएको छ । यसबाट पशुपालक किसानलाई राहत पुगेको छ । पालिकाको सुत्केरी गाईभैसिलाई सातदिनका लागि आवश्यक मिनरल,भिटामिन वितरण कार्यक्रम अन्तर्गत यस्तो सहयोग गरिएको चिकित्सकले बताए ।
यो सुविधा लिन भर्खरै ब्याएका गाईभैसिको बाछाबाछी वा पाडापाडी सहितको एकप्रति रंगिन वा साधा फोटो, सम्बन्धीत वडा कार्यालयको सिफारिस र पशुधनीको नागरिकता प्रमाण पत्रको एकप्रति फोटोकापी आवश्यक पर्ने छ ।
यसरी रितपूर्वक आएका पशुपालक किसानलाई पशु संख्याको आधारमा एकपशु बराबर लिभर टोनिक एक लिटर, मिनरल १ केजी र मल्टी भिटामीन १२० एमएल निःशुल्क दिने गरिएको छ, कार्यालय प्रमुख पशु चिकित्सक डा.झाले जानकारी दिए ।
गत असार १३ गते बसेको आठौं नगरसभाको दोस्रो बैठकले आर्थीक बर्ष २०८०।०८१ को बजेटमै गाईभैसी सुत्केरी हुँदा एकहजार रुपैंया बराबरको उल्लेखित खुराक खर्च दिने निर्णय गरेको थियो ।
किसानलाई सहयोग गर्ने गरी श्रावणबाटै सुरु गर्ने भनिएपनी ढिलागरी पालिकाले कार्यक्रम कार्यान्वयनमा ल्याएको हो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban