


काठमाडौं । पूर्वराष्ट्रपति डा. रामवरण यादवले जेनजी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंसलाई प्रतिगामी तथा सुनियोजित घटना भएको बताएका छन्। उनका अनुसार आन्दोलनपछिका घटनाक्रमहरूले राज्य सञ्चालनमा संलग्न शीर्ष नेताहरूको कमजोरी स्पष्ट देखाएका छन्।
अनलाइनखबरसँगको विस्तृत अन्तर्वार्तामा बोल्दै पूर्वराष्ट्रपति यादवले २३ भदौमा १९ जना युवाको ज्यान गएको घटनापछि पनि सरकार संवेदनशील बन्न नसक्नु गम्भीर त्रुटि रहेको टिप्पणी गरे।
‘२४ भदौको घटना नेताहरूको कमजोरीले गर्दा भएको हो। २३ भदौमा १९ जना युवाको ज्यान गयो, घुसपैठ भयो भनियो। तर राज्य चलाउनेहरूले घुसपैठबारे पहिल्यै थाहा पाउनुपर्थ्यो,’ उनले भने। ‘सूचना राखिएको देखिएन। जेनजी आन्दोलनलाई हल्कापूर्वक लिइयो। त्यतिबेला सरकारमा बसेका एमाले र कांग्रेसका नेताहरूको कमजोरी त्यही हो।’
युवाहरूले सुशासन, रोजगारी, बेथितिको अन्त्य तथा सामाजिक सञ्जाल खुला गर्ने माग राखेको उल्लेख गर्दै पूर्वराष्ट्रपति यादवले ती माग जायज रहेको बताए। हाल पनि जेनजीले संविधानकै ढाँचाभित्र रहेर समाधान खोज्नुपर्ने धारणा राखिरहेकाले यो सही मार्ग रहेको उनले स्पष्ट पारे।
२४ भदौको विध्वंसबारे बोल्दै उनले भने, ‘दोस्रो दिनको विध्वंसमा आफ्नै सम्पत्ति र राष्ट्रिय धरोहरमाथि जस्तै आक्रमण भयो, त्यो प्रतिगामी डिजाइन थियो। नेपालीले नै गरे पनि त्यो प्रतिगामी काम हो। घटना सुनियोजित देखियो। राज्य त्यसप्रति बेखबर भयो, जसमा राज्य सञ्चालन गर्नेहरूको पूर्ण दोष छ।’
पूर्वराष्ट्रपति यादवसँगको विस्तृत अन्तर्वार्ता आज सार्वजनिक हुँदैछ।





Write your Comment