‘घुसपैठ’ हुनसक्ने भन्दै विरोध प्रदर्शन अन्तिम घडीमा स्थगित,एमालेका पोखरेल र बस्नेत बारा आउँदैं

रातोघर

 २०८२ मंसिर २, मंगलबार  मा प्रकाशित
४६२ पाठक संख्या


सिमरा । बुधबारका लागि घोषित विरोध प्रदर्शन अन्तिम घडीमा स्थगित गरिएको छ । जेनजी समूहका बाराका नेता सम्राट उपाध्यायले आफ्नै फेसबुक मार्फत बिहान १० बजे शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन सार्वजनिक आह्वान गरेका थिए । उनले साँझपख गरेको अपिलमा प्रदर्शनमा ठूलो संख्यामा उपस्थित हुन आग्रह गरेका थिए । तर मंगलबार राति उपाध्यायले अर्को स्टाटस लेख्दै कार्यक्रम रद्द गरिएको जानकारी दिए ।

उपाध्यायसँग किन कार्यक्रम रोकियो भन्ने प्रश्न गर्दा उनले प्रदर्शनमा ‘घुसपैठ’ हुनसक्ने विशेष सूचना प्राप्त भएको दाबी गरे। उनका अनुसार प्रदर्शन बिथोल्ने, जेनजीहरूलाई बदनाम गर्ने र सक्रिय सदस्यहरूलाई निरुत्साहित गर्ने उद्देश्यले कुनै घटना घड्याइने संकेत पाएपछि सुरक्षा र परिस्थितिको संवेदनशीलता हेरिएको बताउँदै कार्यक्रम रद्द गर्न बाध्य भएको बताए। उनले फेसबुकमा “केही अप्रत्याशित असुविधाका कारण भोलिको विरोध प्रदर्शन रद्द गर्नु परेकोमा दुःखित छु, सबैले आफ्नो ख्याल गर्नुहोला” भन्दै सन्देश सार्वजनिक गरेका छन्।

यता सोही दिन बाराको परवानीपुरमा नेकपा एमालेले आयोजना गरेको युवा जागरण सभाको तयारी तीव्र रहेको छ। कार्यक्रममा पार्टीका महासचिव शंकर पोखरेल र नेता महेश बस्नेत सहभागी हुने तय भएको छ। नेकपा एमाले जीतपुरसिमरा नगर कमिटीका अध्यक्ष त्रिलोक विक्रम शाह ठकुरीले बुधबार बिहान १०ः३५ बजे सिमरा विमानस्थलमा नेताद्वयको स्वागतका लागि नेता तथा कार्यकर्ताहरूलाई उपस्थित रहन आह्वान गरेका छन्।

Write your Comment