


बारा- २०४१ सालमा एक व्यावसायिक घरानामा जन्मिएका श्याम बाबु गुप्ताले दुख र गरिबीलाई कहिल्यै नजिकबाट भोग्नुपरेन। तर सुविधासम्पन्न जीवनशैलीका बाबजुद पनि उनी सधैँ समाजका कमजोर वर्ग, वातावरण संरक्षण र जनसेवाप्रति संवेदनशील रहँदै आएका छन्। यही संवेदनशीलता नै आज उनको राजनीतिक यात्राको मुख्य पहिचान बनेको छ।
क्लिन सोसाइटी नेपालमार्फत चुरे संरक्षण, वातावरणीय सरसफाइ तथा सामाजिक चेतनामूलक अभियानमा सक्रिय रहँदै आएका गुप्ताले समाजसेवाबाटै आफ्नो सार्वजनिक जीवनको सुरुवात गरेका हुन्। समाजप्रतिको यही समर्पणले उनलाई २०६७ सालमा तरुण दल साबिक सिमरा गाउँ विकास समितिको उपसभापति बनायो। युवामाझ लोकप्रिय र संगठनात्मक क्षमता भएका व्यक्तिका रूपमा चिनिएका गुप्ता २०६९ सालमा गढीमाई नगरपालिकाको सभापति चयन भए, जसले उनको राजनीतिक यात्रालाई नयाँ उचाइ दियो।
विशेषगरी बालबालिकाप्रति गहिरो माया राख्ने गुप्ता शिक्षा, स्वास्थ्य तथा सामाजिक सुरक्षासम्बन्धी विविध शिविर सञ्चालन गर्दै निरन्तर समाजसेवामा लागिरहे। जनभावनाअनुसार विभिन्न निःशुल्क स्वास्थ्य शिविर, सरसफाइ अभियान तथा सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरेर उनले कागजी होइन, व्यवहारिक राजनीति गर्ने नेताको छवि बनाएका छन्।
नेपाली कांग्रेसको महाधिवेशनमार्फत केन्द्रीय महा–समिति सदस्यमा निर्वाचित हुनु गुप्ताको राजनीतिक परिपक्वताको अर्को महत्वपूर्ण उपलब्धि हो। यसले उनलाई केवल स्थानीय नेता मात्र नभई राष्ट्रिय राजनीतिक मञ्चमा समेत चिनाएको छ। संगठनप्रतिको निष्ठा, स्पष्ट विचार र कार्यकर्तामैत्री व्यवहारकै कारण उनी आज युवामाझ अत्यन्तै रुचाइएका नेतामध्ये पर्छन्।
अरूलाई विरोध गरेर होइन, आफूलाई सक्षम बनाएर अघि बढ्नुपर्छ भन्ने विश्वास राख्ने गुप्ता नकारात्मक राजनीतिभन्दा सकारात्मक प्रतिस्पर्धामा भरोसा गर्छन्। यही सोचले उनलाई भीडभन्दा फरक, व्यवहारिक र जिम्मेवार नेताको रूपमा स्थापित गरेको छ। जित–हारलाई भन्दा पनि जनताको सेवालाई पहिलो प्राथमिकतामा राख्ने उनको दृष्टिकोण आजको राजनीतिमा दुर्लभ मानिन्छ।
यस पटकको चुनावमा एकातिर युवा पुस्ताको बलियो साथ र अर्कोतिर जनस्तरमा बढ्दो लोकप्रियताले श्याम बाबु गुप्ताको जित लगभग सुनिश्चित देखिन्छ। उनको राजनीतिक यात्रा पद र प्रतिष्ठाभन्दा पनि सेवाभावमा आधारित भएकाले जनताको विश्वास निरन्तर मजबुत बन्दै गएको छ। यही विश्वास, निरन्तरता र समर्पणका कारण यो निर्वाचनमा श्याम बाबु गुप्ता विजयी हुने अपेक्षा जनस्तरमा व्यापक रूपमा व्यक्त भइरहेको छ।





Write your Comment