


अहिलेसम्मकै सबभन्दा ठूलो सुगाको अवशेष न्यूजिल्यान्डमा भएको अभिलेख फेला परेको छ। अभिलेखका अनुसार उक्त सुगाको तौल सात किलोग्राम हुनसक्ने अनुमान छ। यसअघि सबभन्दा ठूलो सुगा भनिएको ‘काकापो’ को तौल यसको आधा मात्र थियो।
प्रागइतिहासविदरूले यो नयाँ प्रजातिको सुगाको नाम ‘हेराकल्स इन्एक्सपेक्ट्याटस’ राखेका छन्। उनीहरूले यो सुगाको आकार र तौललाई अलौकिक मानेका छन्।
अनुसन्धानमा संलग्न अस्ट्रेलियास्थित फ्लिन्डर्स विश्वविद्यालयका प्राध्यापक ट्रेभर वर्दीले यो सुगाको पहिचान गर्न एकदमै कठिन भएको बताएका छन्।
‘यो एकदमै नयाँ प्रजातिको सुगा हो भन्ने निष्कर्षमा त हामी पुग्यौं,’ उनले भनेका छन्, ‘तर यो कुन प्रजातिमा पर्छ भनेर पत्ता लगाउनु धेरै नै चुनौतीपूर्ण रह्यो।’
क्यान्टरबरी संग्रहालयका वरिष्ठ क्युरेटर पल स्कोफिल्डका अनुसार यो अवशेषलाई सबैले ठूलो चीलको अवशेष भन्ने ठानेका थिए।
यी हाडहरू आगामी नाभेम्बरमा प्रदर्शनीमा राखिनेछ। यी हाड न्यूजिल्यान्डको सेन्ट्रल ओटागोमा १ करोड ९० लाख वर्ष पुरानो अवशेषका थुप्रोमा भेटिएको हो। न्यूजिल्यान्ड ठूला चराहरू पाइने ठाउँका लागि प्रसिद्ध छ।
वरिष्ठ क्युरेटर पल स्कोफिल्डका अनुसार यो सुगाको तौलका कारण उड्न नसक्ने हुनसक्छ। त्यस्तै आजभोलिका सुगा शाकाहारी भए पनि यो विशाल चराले के खान्थ्यो भन्ने थाहा छैन।
‘जनावरहरू आकारमा ठूला हुँदै गए, मांसाहारी बन्ने सम्भावना बढी हुन्छ,’ स्कोफिल्ड भन्छन्, ‘यो चरा ठूलो भएकाले यसलाई धेरै खान्की पक्कै चाहिन्थ्यो।’
उनका अनुसार संसारकै ठूलो यो सुगा तीन फिट अग्लो थियो। यो सुगा माडागास्करको मास्करिन टापूमा कुनै बेला पाइने ‘डोडो’ चरा जस्तैजस्तै भएको अनुसन्धाताहरूले बताएका छन्।
setopati.com




Write your Comment