

उमेरले ७० वर्ष टेक्न लागेकी वसन्ती खत्री रुपन्देहीकी एक सफल महिला उद्यमीका रूपमा परिचित छिन् । बुटवलको बजारमा वसन्ती र अचारलाई पर्यायबाचीका रूपमा हेरिन्छ । ०५३ सालदेखि बुटवलमा अचार बेच्न थालेकी उनी अहिले पनि यहि पेसामा रमाइरहेकी छन् ।
मेहनत गर्ने हो भने सफल भइन्छ भन्ने उदहारण बेनकी उनी अहिले अचार व्यवसायबाटै वार्षिक लाखौं रुपैयाँ आम्दानी गर्न सफल भएकी छन् ।
५० रुपैयाँबाट सुरु भएको उनको उद्योगमा अहिले ११ जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । ६९ वर्षीया वसन्तीले आफैंले बनाएको अचार बेचेर वार्षिक ८० लाखको कारोबार गर्ने गर्छिन् भने उनले सबै खर्च कटाएर २५ लाख रुपैयाँ आम्दानी गरिरहेकी छन् ।
५० रुपैयाँको लगानीमा आँपको अचार बनाएर सालको पातमा २ रुपैयाँको दरले बेचेको स्मरण गर्दै खत्रीले भनिन् अहिले अलि चाहिँ पहिलाकाे जस्ताे दु:ख गर्नुपर्दैन । उनकाे उद्याेगमा बनेकाे अचार हिजाेआज पोखरा, काठमाडौंलगायतका शहरमा बढी बिक्री हुन्छ । ‘शिवनगरमा सुरुमा एक दुई रुपैयाँ लिएर सालको पातमा अचार किन्न आउँथे,’ उनी सम्झन्छिन्, ‘त्यहि देखेर आत्मबल मिल्यो र अहिलेसम्म अचारलाई निरन्तरता दिएकी छु ।’
वसन्ती सफल महिला उद्यमीका रूपमा सम्मानीत पनि भएकी छन् । सफल महिला उद्यमीको परिचय बनाएकी वसन्तीले विभिन्न पुरस्कार प्राप्त गरिसकेकी छन् । पश्चिम नेपालका विभिन्न शहरमा आयोजना हुने साना ठूला सबै कृषि, उद्योग तथा व्यापार मेला महोत्सवमा उनको अचार अनिवार्य जस्तै बनेको छ ।
अहिले बसन्तीको अचार किन्न ग्राहकहरु उनकै घरमा समेत पुग्छन् । ३१ वर्षदेखि अचार बनाउने काम गर्दै आएकी उनले आप, अकबरे खुर्सानी, लसून, लप्सी, सिन्की, मूला, कागती, करेला, मेथीलगायत २४ प्रकारको अचार बनाउने गरेकी छन् ।
सानो लगानीबाट सुरु भएको उनको उद्योगबाट उत्पादित अचार अहिले नेपालमा मात्रै नभई विदेशमा पनि माग भइरहेकाे छ ।
खासगरी कोसेलीको रुपमा प्रयोग हुँदै आएकाे अचारले सबैको मन लोभ्याउने गरेको छ ।
निरन्तरकाे मेहनत, लगनशीलता र दृढताले नै वसन्ती सफल भएकी स्थानीय अगुवाहरू बताउँछन् । उनकाे लगन र मेहनतबाट अरूले पनि पाठ सिक्नुपर्नेमा उनीहरूकाे जाेड छ । आर्थिक समृद्धिकाे नारा लिएकाे सरकारले पनि वसन्तीजस्ता उद्यमीलाई प्राेत्साहन गर्नुपर्ने नागरिक अगुवाहरूकाे सुझाव छ । 


shilapatra.com





Write your Comment