एउटा विदेशी विद्यार्थी नहुने स्कूलको नाम ‘इन्टरनेसनल’

रातोघर

 २०७६ श्रावण २३, बिहिबार  मा प्रकाशित
२७८ पाठक संख्या


काठमाडौं । 

पेन्टागन भन्नासाथ विश्वभरिका मानिसले बुझ्छन् – अमेरिकी रक्षा मन्त्रालय । नेपालमा पेन्टागनको परिभाषा बेग्लै छ अर्थात् पेन्टागन इन्टरनेसनल कलेज ।

अन्तरिक्षमा यान प्रक्षेपण गर्ने अमेरिकी संस्थाका रूपमा चर्चित नासाको नामसमेत प्रयोग गरी शिक्षण संस्था सञ्चालन गरिएको सम्भवतः नेपालमा मात्र हुनुपर्दछ ।

विद्यार्थी शैक्षिक गुणस्तरप्रति हेक्का राख्दैनन् । बरु विदेशी नामकरण गरिएका शिक्षण संस्थाप्रति हुरुक्कै हुन्छन् भन्ने सोचअनुरूप विदेशी नामधारी शिक्षण संस्था खोल्ने प्रवृत्ति बढेको छ ।

शिक्षा नियमावलीमा विदेशी नाम भएका शिक्षण संस्था खोल्न नपाइने भनिए पनि नियमन निकायले त्यसप्रति बेवास्ता गर्दा जथाभावी नामकरण गरिएका शिक्षण संस्थाले अनुमति पाएका छन् ।

गोरखापत्र दैनिक लेख्छ – सेन्ट लरेन्स, ह्वाइट फिल्ड (जर्ज), सेन्ट जेभियर्स पादरी हुन् र उनीहरूका नाममा नेपालमा विद्यालय सञ्चालित छन् । अमेरिकाको दोस्रो ठूलो राज्य टेक्सास, उत्तर र अमेरिकाको बीचमा रहेको भूभाग एवं सामुद्रिक क्षेत्र क्यारेबियन, अमेरिकामा रहेको सहर प्रिन्सटन, अमेरिकाको न्युयोर्कमा रहेको सहर ब्रुकलिन, अमेरिकी संसद् भवन क्यापिटोल, अमेरिकी सहर ग्रिनफिल्ड आदि नाम प्रयोग गरी उपत्यकामा शिक्षण संस्था सञ्चालित छन् ।

बेलायतको फुटबल क्लब लिभरपुलदेखि अमेरिका पत्ता लगाउने इटालियन नागरिक कोलम्बससम्मको नामलाई नेपालका शिक्षण संस्थाका सञ्चालकहरूले प्रयोग गर्न बाँकी राखेका छैनन् । किङ क्याम्प जिलेटले दारी काट्ने उपकरण (रेजर) उत्पादन गरे र उनकै नामबाट रेजर प्रख्यात छ । रेजरको नाम प्रयोग गर्न समेत शिक्षण संस्थाका सञ्चालकहरूले संकोच मानेका छैनन् ।

ओस्कार वाइल्डको नाममा राखिएको अन्तर्राष्ट्रिय चलचित्र पुरस्कार ओस्कारको नामबाट नेपालमा शिक्षण संस्था खोलिएको छ । बेलायतमा रहेको अन्तर्राष्ट्रिय समय जनाउने स्थान ग्रिनविचलाई पनि नेपालीले शैक्षिक संस्थाको नाम राख्न छाडेका छैनन् । चुस्त घोडा अर्थात् मोर्गन पनि नेपालमा शिक्षण संस्थाको नाम बनेको छ ।

अमेरिकाको विश्वविद्यालय साउथ वेस्टर्नको नाम नक्कल गर्न पनि शैक्षिक संस्थाका सञ्चालकहरू अग्रसर देखिएका छन् । ओलम्पिक खेलको सुरुवात भएको ग्रीसको ओलम्पिया पनि हाम्रा शिक्षण संस्थाका नाम बनेका छन् । ठूलो शंखेकीरा ट्रिटन, उच्चतम बिन्दु पिनाकल, कोसेढुंगा माइलस्टोनजस्ता अंग्रेजी नाम पनि भित्रिए, यी नाम शैक्षिक संस्थामा भिज्दैछन् ।

हुन त तक्षशीला, प्रसादी, विनायक सुधा, बाग्मती, गुरुकुल, चाणक्य, अरनिको, लालीगुराँस, राजधानी, माछापुच्छ«े, कामना आदि नाम भएका दर्जनौँ शिक्षण संस्था पनि सञ्चालनमा छन् । कक्षा १२ सम्मको शिक्षा विद्यालय तह बनिसकेको छ तर सोही तहसम्म अध्यापन गराउन पनि कलेज लेख्ने गरिएको छ ।

शिक्षण संस्थामा एक जना पनि विदेशी विद्यार्थी छैनन् तर नामको बीचमा ‘इन्टरनेसनल’ शब्द झुन्ड्याइँदै आएको छ । शिक्षण संस्थाको नाममा नियम पालना नभए पनि नियमन निकायलाई यो मामिला चासोको विषय बन्न नसकेको कतिपयको भनाइ छ ।

शिक्षा नियमावलीमा समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान गर्ने वा ऐतिहासिक व्यक्ति, देवदेवी, तीर्थस्थल वा प्राकृतिक सम्पदाको नामबाट नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्न सकिने स्पष्ट उल्लेख छ ।

२०६९ सालमा सरकारले लागू गरेको संस्थागत विद्यालय मापदण्ड तथा सञ्चालन निर्दे्शिकामा विदेशी नामकरण भएका विद्यालयले अनिवार्य रूपमा छ महिनाभित्र नाम परिवर्तन गरिसक्नुपर्ने व्यवस्था गरिएको थियो तर आधा दशक नाघ्न लाग्दा पनि सो प्रावधान अझै कार्यान्वयनमा आएको छैन । शिक्षण संस्थाको नाम अंग्रेजीकरण गरिएकैले २०२८ सालमा पनि यस्तो निर्णय भएको थियो ।

विक्रम संवत् २०२८ चैतमा गोरखापत्रमा प्रकाशित समाचारमा, ‘काठमाडौँ जिल्ला शिक्षा समितिको आज बसेको बैठकले जिल्लाभित्रको अंग्रेजीमा नामकरण भएका प्राथमिक, निम्न माध्यमिक र माध्यमिक विद्यालयहरूले नेपालीमा नामकरण गर्नुपर्ने निर्णय गर्‍यो’ भन्ने उल्लेख छ ।

निर्देशिकामा कम्तीमा १ प्रतिशत विदेशी विद्यार्थी भएकाले मात्र नामको पछाडि अन्तर्राष्ट्रिय लेख्न पाउने व्यवस्था थियो । काठमाडौं महानगरपालिकाले कार्यान्वयनमा ल्याएको शिक्षा व्यवस्थापन नियमावलीमा कम्तीमा एकतिहाइ विदेशी विद्यार्थी भएका शिक्षण संस्थाले मात्र अन्तर्राष्ट्रिय लेख्न पाउने उल्लेख छ ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान)का वरिष्ठ उपाध्यक्ष नवराज पाण्डेले शिक्षण संस्थाको उचाइ बढाउन र अन्तर्रा्ष्ट्रियस्तरको सुविधा भएको जनाउ दिन अन्तर्राष्ट्रिय भनी लेख्ने गरेको तर्क गर्दै विदेशी नाम नराख्न सरकारले परिपत्र गरेमा सोच्न सकिने बताए । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता वैकुष्ठ अर्यालले यो विषय अब स्थानीय सरकारको जिम्मामा गइसकेकाले आफूहरूले यससम्बन्धमा कुनै निर्णय गर्न नसक्ने स्पष्ट गरे ।

काठमाडौं महानगरपालिकाको शिक्षा विभाग प्रमुख तारापति खरेलले ठाउँ सारी, नाम परिवर्तन, स्वामित्व परिवर्तन, अनुमति आदिमा नेपाली मौलिकता भएको नाममा मात्र स्वीकृति दिने गरिएको बताउँदै अन्तर्राष्ट्रिय र कलेज शब्द हटाउन सरोकारवालासँग छलफल गर्ने योजना बनाइएको जानकारी दिए । गोरखापत्र दैनिकमा खबर छ ।

lokaantar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban