चुनाव जितेका वडाध्यक्ष डिभी परेपछि उडे अमेरिका

रातोघर

 २०७६ श्रावण २३, बिहिबार  मा प्रकाशित
२१२ पाठक संख्या


चुनाव जितेका वडाध्यक्ष वडा कार्यालयमा भेटिनुपर्ने हो। तर प्रदेश नम्बर ३ को मकवानपुरस्थित भीमफेदी गाउँपालिका ८ का वडाध्यक्ष कार्यालयमा भेटिँदैनन्।

गाउँलेको सेवा र विकास निर्माणमा ध्यान दिनुपर्ने बेला वडाध्यक्ष जगतमान घिसिङ भने खुसुक्क अमेरिका पुगेका छन्।

सरकारी कामकाज वा घुमफिरका लागि उनी अमेरिका गएका होइनन्। डिभी (डाइभर्सिटी भिसा) परेपछि गत चैतमा उनी अमेरिका उडे। अमेरिका उडेपछि विगत चार महिनादेखि वडा कार्यालय वडाध्यक्षविहीन छ। चैत २० गते परिवारसहित वडाध्यक्ष घिसिङ अमेरिका गएका थिए।

भोट हालेर जिताएको वडाध्यक्ष अमेरिका गएपछि वडा सदस्य नमराज अधिकारीले वडाध्यक्षको जिम्मेवारी लिनुपरेको छ। गाउँपालिका अध्यक्ष हिदम लामाका अनुसार वडाध्यक्ष बिदा लिएर अमेरिका गएका हुन्।

‘उहाँले राजीनामा दिनुभएको छैन,’ अध्यक्ष लामाले सेतोपाटीसँग भने, ‘फर्केर फेरि गाउँलेको सेवा गर्नुहुन्छ होला।’

लामाका अनुसार वडाध्यक्ष साउन महिनाभित्रै स्वदेश फर्किन सक्छन् तर फर्कने मिति यकिन छैन।

सरकारी पदमा बसेकाहरू कानुनअनुसार तीन महिनाभन्दा बढी बिदामा बस्न पाउँदैनन्। वडाध्यक्ष अमेरिका गएकै चार महिना नाघिसक्यो।

‘कानुनअनुसार तीन महिनाभन्दा धेरै बिदा बस्न नपाउनु पर्ने हो,’ लामाले भने, ‘राजीनामा नदिएसम्म उहाँ नै वडाध्यक्ष रहिरहनुहुन्छ।’

वडाध्यक्षले परिवारलाई अमेरिकामा व्यवस्थापन गरेर आफू फर्किने बताउने गरेका छन्।

‘केही समस्या परेर ढिला भएको हुनसक्छ,’ लामाले भने। तत्कालीन नेकपा एमालेबाट चुनाव उठेका घिसिङ वडाध्यक्ष निर्वाचित भएका थिए।

वडाध्यक्षकै कारण कुनै काम नरोकिएको गाउँपालिका अध्यक्ष लामा दाबी गर्छन्।

‘कार्यवहाक अध्यक्ष तोकेर जिम्मेवारी दिइएको छ। जनताको काम रोकिएको छैन,’ उनले भने, ‘जनताले पनि अध्यक्ष खोइ भनेर खासै गुनासो गरेका छैनन्।’

कर्मचारीलाई डिभी परेर गए जागिरबाट हात धुनुपर्ने व्यवस्था छ। तर जनप्रतिनिधिका लागि भने के गर्ने भन्ने प्रष्ट कानुन छैन। जनताका सेवाका लागि निर्वाचित भएका व्यक्ति विदेशकै नागरिक हुने गरी जान पाउने कि नपाउने भन्ने बहस हुने गरे पनि यसबारे ठोस कानुनको अभाव छ।

कानुन बनाउन पाँच वर्षअघि २०७१ जेठ १३ मा मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लगे पनि त्यो बेला केही निर्णय भएन।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता भुपाल बराल पनि निर्वाचित जनप्रतिनिधि लामो समयसम्म विदेश बस्न नमिल्ने बताउँछन्।

‘लामो समय बस्ने गरी विदेश जाने हो भने यहाँ राजीनामा दिएर जानुपर्ने हो,’ उनले सेतोपाटीसँग भने, ‘तोकिएभन्दा लामो समय बिदा बस्न मिल्दैन।’

मन्त्रालयले जनप्रतिनिधिका लागि विदेश भ्रमणमा अंकुश लगाइराखेका बेला निर्वाचित वडाध्यक्ष नै चार महिनादेखि अमेरिकामा छन्।

setopati.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban