

लामो दूरीमा चल्ने सवारी साधनको दुर्घटना बढेसँगै यातायात व्यवस्था विभागले दुई चालक हुनुपर्ने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ।
विभागले मंगलबार सूचना जारी गर्दै प्रस्थान विन्दुबाट २५० किमी वा सोभन्दा बढी दूरीमा चल्ने सवारी साधनले अनिवार्यरूपमा दुई चालक नराखेको पाइए कारबाही गर्ने जनाएको हो।
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १०४ मा लामो दूरीमा चल्ने सार्वजनिक सवारीमा कम्तीमा दुई चालक अनिवार्य राखी प्रत्येक छ/छ घण्टामा पालैपालो सवारी चलाउनुपर्ने व्यवस्था छ।
एउटै चालकले लामो दूरीमा सवारी चलाउँदा थकानका कारण सवारी दुर्घटनाको दर बढेको विभागको भनाइ छ।
त्यस्तै, विभागले मध्यम दूरीका चल्ने सवारी साधनले पनि प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्थालाई पनि कडाइ गर्ने जनाएको छ।
ऐनमा चार घण्टाभन्दा बढीको दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीले प्रत्येक चार घण्टामा आधा घण्टा विश्राम लिनुपर्ने व्यवस्था गरिएको छ।
दुर्घटना न्यूनीकरण तथा यातयात व्यवस्थालाई भरपर्दो बनाउने पर्याप्त कानुन भए पनि कार्यान्वयन फितलो हुँदा सार्वजनिक सवारीमा यात्रा गर्ने नागरिकले अकालमा ज्यान गुमाउँदै आएका छन्।
विशेषतः लामो दूरी तथा रात्रि सेवाका सवारी चालक यात्राकै क्रममा निदाउने, थकान तथा तोकिएको समयमै गन्तव्यमा पुग्नुपर्ने मानसिक तनावका कारण दुर्घटना बढेको ट्राफिक प्रहरीले जनाएको छ।
विभागले सार्वजनिक सवारीलाई सुरक्षित र व्यवस्थित बनाउन दिइएको निर्देशन कार्यान्वयन नगरेको पाइए सम्बन्धित यातायात धनीविरूद्ध कारबाही गरिने चेतावनीसमेत दिएको छ।
गत शुक्रबारमात्रै सर्लाहीको मलङ्गवाबाट काठमाडौं आउँदै गरेको रात्रि बस पृथ्वी राजमार्गको बेनीघाट रोराङ गाउँपालिका-३ सलाङघाटमा त्रिशूली नदीमा खस्दा ११ जनाको मृत्यु भएको थियो।
सोही दुर्घटनामा परी एक बालकसहित २० बेपत्ता भएका थिए ।
setopati.com





Write your Comment