जनैमात्र होइन, रक्षाबन्धन पनि विदेशबाट आयात !

रातोघर

 २०७६ श्रावण ३०, बिहिबार  मा प्रकाशित
४१९ पाठक संख्या


काठमाडौं ।
जनैमात्र होइन, रक्षाबन्धनसमेत विदेशबाट आयात हुने गरेको पाइएको छ ।
व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रको तथ्यांकमा गत वर्ष चीनबाट जनै आयात गरिएको सार्वजनिक भएको थियो । यद्यपि केन्द्रले भने जनै आयात भए पनि रुपैयाँ नै तोकेर सार्वजनिक भएको तथ्यांक आधिकारिक नभएको बताउँछ ।
जनैमात्र होइन, जनै पूर्णिमाकै दिन हातमा लगाइने रक्षाबन्धनअर्थात डोरो पनि तयारी नै आउँछ । पछिल्लो समय कर्मकाण्ड गर्नेले पनि काँचो धागो किनेर रक्षाबन्धन बनाउने झञ्झट गर्दैनन् । विदेशबाट रंग्याएर आयात गरिएको डोरो किनेर जजमानको हातमा बाँधिदिन्छन् ।
काँचो धागोलाई रातो वा पहेंलो रंगमा रंग्याएपछि नारायण कवचसमेत पाठ गरेर रक्षाबन्धन पूजा गरिन्छ । त्यसपछि गुरु, पुरोहित वा जजमानको हातबाट डोरो बाँध्ने चलन छ ।

काँचो धागोलाई रंग्याएर बनाइएको रक्षाबन्धन

तर, यो विधि पूरा गर्नुपर्ने रक्षाबन्धनसमेत विदेशबाट आयात भइरहेको छ । धेरैले विदेशबाट आयातित धागो नाडीमा बाँधेर रक्षाबन्धनको औपचारिकता पूरा गरे पनि त्यो शास्त्रसम्मत नहुने र त्यसबाट फल पनि प्राप्त नहुने धर्मशास्त्रविद प्रा.डा. रामचन्द्र गौतम बताउँछन् ।
जनैपूर्णिमाका दिन वैदिक सनातन धर्मावलम्बी सबैले दाहिने हातमा डोरो लगाउँछन् । रक्षाबन्धन मानव जाति सबैले लगाउनुपर्ने शास्त्रीय वचन छ । रक्षाबन्धन जनैपूर्णिमाको दिनमा मात्र होइन विवाह, व्रतबन्ध, नामकरण, होम, आदि कर्ममा पनि वैदिक मन्त्रोच्चारणसहित विधिपूर्वक मन्त्रेर लगाइन्छ ।
सत्ययुगमा दानबद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बलि बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन, विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यता छ । त्यसैको आधारमा चलेको रक्षाबन्धनको परम्परा हालसम्म पनि प्रचलित छ ।
यसैकारण रक्षाबन्धन गर्ने बेलामा गुरु पुरोहितहरुले ‘येन बद्धो बलिराजा दानवेन्द्रो महाबल तेन त्वां प्रतिबध्नामि रक्षेमा चलमाचल’ भनी रक्षासूत्र, रक्षाबन्धन अथवा डोरो बाँध्ने वैदिक परम्परा रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा. डा. गौतम बताउँछन् ।

-onlinekhabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban