रबि लामिछाने पक्राउप्रति पत्रकार महासंघको आपत्ति

रातोघर

 ३१ श्रावण २०७६, शुक्रबार १९:२६  मा प्रकाशित

काठमाडौं।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएर पक्राउ परेका टेलिभिजन कार्यक्रम प्रस्तोता रबि लामिछाने र पत्रकार युवराज कडेंललाई पक्राउ परेकामा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

‘रवी लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार दुरव्यवहार र पक्राउको शैलीप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानकर्षण भएको छ, महासंघका महासचिव रमेश बिष्टले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ ।

पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको महासंघका महासचिव बिष्टले जनाएका छन् ।

‘बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् र निन्दनीय काम हो । प्रहरीको यो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविरीत भएकोे महासंघ ठान्दछ । महासंघ प्रेस र सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेपको तीब्र निन्दा गर्दै प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र पत्रकार सञ्चारमाध्यममाथि हुने यस्ता हस्तक्षेप बन्द गर्न सम्बन्धित निकायसँग जोडदार माग गर्दछ,’ बिष्टले हस्ताक्षर गरेको बिज्ञप्तिमा भनिएको छ ।

-shilapatra.com

Write your Comment