Advertisement
SKIP THIS

कृष्णले कर्म र ज्ञानको महत्व कसरी फैलाए ?

रातोघर

 ६ भाद्र २०७६, शुक्रबार ०८:३८  मा प्रकाशित

पुराणहरूका अनुसार भाद्र कृष्ण अष्टमी र रेवती नक्षत्रको संयोगमा भगवान् विष्णुले कृष्णका रूपमा धर्तीमा जन्म लिएका हुन् । कृष्णपक्षको मध्यरातमा कंसको कालकोठरीमा वसुदेव र देवकीका आठौँ पुत्रको रूपमा जन्मेका कृष्णले देखाएको बाललीला ज्यादै रोचक मानिएको छ । उनले कंसको अन्याय र अत्याचारको अन्त्य मात्र गरेनन्, श्रीमद्भागवत् गीताको माध्यमबाट कर्म र ज्ञानको महत्त्व विश्वभरि फैलाए ।

भगवान् कृष्णले दिएको गीता ज्ञानलाई विश्वकै उत्कृष्ट दर्शन मानिएको छ । भगवान् कृष्णको जन्म, बाललीला, रासलीला, राधासँगको प्रेम प्रसंग, महाभारत युद्धमा कृष्णको भूमिका आदि श्रीमद्भागवत लगायतका पुराण तथा महाभारत आदि ग्रन्थमा वर्णन गरिएको छ । श्रीमद्भागवतको दशम स्कन्ध पूर्वार्ध र उत्तरार्ध गरी ९० अध्यायमा भगवान् कृष्णको लीलाहरूको विशेष वर्णन गरिएको छ ।

कृष्णले बाल्यकालमा आफूलाई कंसले मार्न पठाएका शकट, भञ्जन, तृणवर्त, वत्सासुर, बकासुर पुतना लगायतका असुरहरूको नाश गरे । यसैगरी गोकुलका बासिन्दाको दही चोरेर, अनेक बिगार गरेर माता यशोदा र छिमेकीलाई सताएको प्रसंग पनि छ । माटो खाएको निहुँमा यशोदालाई विश्व ब्रह्माण्डको दर्शन गराएको, गोठालाका रूपमा बाललीला गरेको प्रसंग पनि कृष्णलीलाअन्तर्गत चर्चा भइरन्छ । पानीमा विष फैलाउने कालिया नागलाई ठीक ठाउँमा ल्याएको र गोवर्धन पर्वत उचालेर गोकुलवासीको रक्षा गरेको आदि प्रसंग नेपाली सनातन समाजमा प्रचलित छन् । यसैगरी, राधाकृष्णको प्रेमप्रसंग पनि प्रेमी–प्रेमिकामाझ प्रेरणाको स्रोत बनेको छ ।

द्वापरयुगमा मानिसहरू कंसको अन्याय र अत्याचारबाट पीडित भइरहेका थिए । आफ्नै बाबु उग्रसेनलाई समेत बन्दी बनाएर कंसले आफूलाई मथुराको राजा घोषित गरे । यस क्रममा आफ्नी बहिनी देवकीको विवाह यदुकुलका वसुदेवसँग गरिदिए । बहिनीज्वाइँ पुर्याउन जाने क्रममा वसुदेव र देवकीको आठौँ पुत्रबाट मारिने आकाशवाणीबाट त्रसित भएको कंसले दुवैलाई बन्दी बनाई जन्मिएका भाञ्जाभाञ्जीहरू एक–एक गरी मार्न थाले । तर आठौँ गर्भका रूपमा आएका कृष्णलाई बाबु वसुदेवले रातारात गरी गोकुल लगेर सुरक्षित पारे ।

यो क्रममा कृष्णलाई मार्न कंसले गरेका अनेकौँ प्रयास सफल हुन सकेनन्, अन्तिममा आफैं कृष्णको हातबाट मारिन पुगे । कंसको अन्त्यपछि पनि समाजमा अत्याचार मच्चाउने शिशुपाल आदि राक्षसको अन्त्य पनि कृष्णको हातबाटै भयो । हस्तिनापुर राज्यको राजनीतिमा समेत उनको ठूलो योगदान छ । युद्धको मैदानबाट हटिसकेका अर्जुनलाई गीताको माध्यमबाट युद्धतर्फ प्रेरित गरे । गीताज्ञानले महाभारत युद्ध मात्र गराएन ज्ञान र कर्मको सन्देश पनि छोडेर गयो । आज पनि दार्शनिक ग्रन्थहरूको चर्चा चल्यो भने पहिलो कोटिमा श्रीमद्भागवत गीता नै आउँछ । श्रीमद्भागवत गीताको व्याख्या गर्न विश्वभरि नै अनेकौ प्रयास भएका छन् तर सतहमा बाहेक गहिराइमा पुगेर व्याख्या गर्न आज पनि कसैले सकेका छैनन् ।

जुनसुकै समयमा पनि केही समय खराब र असत्य पक्षको विजय भएको देख्न सकिन्छ, चाहे पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएका सत्य युग होस् वा द्वापर वा त्रेता युग नै । विभिन्न समयमा असत्यको बोलवाला रहेर धर्म वा सत्य डगमगाउने स्थितिमा पुगिसकेको हुन्छ । त्यसको रक्षा गर्न भगवानले विभिन्न रूप लिएर असत्यको नाश गरेका उदाहरण प्रशस्तै छन् । यसै सन्दर्भमा अर्जुनलाई दिएको गीता ज्ञानको एक प्रसंगमा भगवान् कृष्णले भनेका छन्, ’यदा यदा ही धर्मस्य ग्लानिर्भवति भारतः, अभ्युत्थानमर्धमस्य तदात्मानं सृजाम्यहम् परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे’ अर्थात् ‘जब जब पृथ्वीमा धर्ममा ग्लानि बढ्छ, अधर्मको नाश गरेर धर्मको स्थापना गर्न म आउँछु । दुष्टहरूको नाश गरेर सज्जनहरूको रक्षा गर्न धर्मको स्थापना र अधर्मको नाश गर्न म समय समयमा धर्तीमा अवतरित हुनेछु ।’

श्रीकृष्णलाई भगवानका रूपमा मात्र होइन एक दार्शनिकका रूपमा समेत स्मरण गरिन्छ । कृष्ण आस्तिकहरूको मात्र आस्थाका प्रतीक हुन् नै नास्तिकले समेत उनले दिएका गीताज्ञानको अनुशरण गर्छन् । भगवान् कृष्णले दिएका ‘कर्मण्यवाधिकारस्ते मा फलेषु कदाचन…’ अर्थात् ‘कर्म गर । फलको आशा नगर’ भन्ने वचनभित्र ज्यादै गहिरो दर्शन लुकेको पाइन्छ । मानिसले गरेको कर्मअनुसार नै उसलाई फल प्राप्त हुन्छ । राम्रो कर्म गरेको छ भने स्वतः फल पनि राम्रै हुन्छ त्यस कारण गरिसकेको कामबारे आशक्ति राखी त्यसबारे चिन्तित नहुनु भन्ने गीताको सन्देश छ ।

भगवान् कृष्णका यिनै कर्महरूको सम्झना गर्दै आज सनातन धर्मावलम्बीहरूले उनको उपासना गर्छन् । वैष्णव वा श्रीकृष्ण प्रणामीहरूले त यो पर्वलाई विशेष महत्त्वका साथ मनाउँछन् । अहिले चतुर्मास चलिरहेको छ । चतुर्मासभरि नै भगवान् कृष्णको पूजा आराधना र उनको कीर्तिस्मरण गर्ने परम्परा छ । कृष्णको जन्मदिनमा उनको विशेष आराधना गर्ने परम्परा चलेको छ । यो दिन विशेषगरी वैष्णव सम्प्रदायका श्रद्धालुहरू निराहार व्रत बसी उनको आराधना गर्छन् ।

सप्ताह, चतुर्मासलगायतका अनुष्ठानहरूमा श्रीमद्भागवतादि ग्रन्थहरूको वाचन हुन्छ । यी अनुष्ठानहरू भगवान् कृष्णका अन्य गुणहरूको चर्चा कमै मात्रामा हुने गर्छ, जति रासलीलाको हुन्छ । पुराण सुनाउने पण्डितहरू स्रोतालाई मन्त्रमुग्ध पार्न यी प्रसंगहरू लम्ब्याएर प्रस्तुत गर्छन् । यसले श्रवण गर्नेहरूमा भगवान् कृष्णका विषयमा भ्रम परिरहेको देखिन्छ । पौराणिक ग्रन्थहरूमा आज गरिने भगवान् कृष्णको आराधनाको विधि उल्लेख भएको पाइन्छ । विशेषगरी द्वादश अक्षरको (ॐ नमो भगवते वासुदेवाय) मन्त्रले उनको आराधना गर्नुपर्ने बताइएको छ ।

-khabarhub.com

Write your Comment