जनकपुरधामदेखि सगरमाथाको आधार शिविरसम्म साइकलबाटै यात्रा !

रातोघर

 २०७६ भाद्र ११, बुधबार  मा प्रकाशित
३७१ पाठक संख्या


जनकपुरधाम ।

जनकपुरधामका एक युवा नेपाल भ्रमण वर्ष २०२० को सफलताको कामना गर्दै सगरमाथाको आधार शिविरसम्मको साइकल यात्रा शुरु गरेका छन् ।

नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० र नेपाली–नेपालीबिच सदभाव बढाउने उद्देश्यका साथ जनकपुरधामका ३२ वर्षीय युवा रञ्जित साहले साइकल यात्रा आरम्भ गरेका हुन् ।

रञ्जित ‘तराई, पहाड, हिमाल हाम्रो मातृभूमि नेपाल’ नाराका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविरसम्मको साइकल यात्रा आरम्भ गरेका हुन् । जानकी मन्दिरमा पूजा गरेपश्चात रंजितलाई जनकपुरधामका केही युवाहरुले मिथिलाको पहिरन पाग लगाएर विदाई गरेका थिए ।

साइकल यात्रा जनकपुरधामबाट आरम्भ गरेपनि रञ्जित सिन्धुलीस्थित कालिञ्चोक भगवती र राजधानी काठमाडौँमा पशुपती नाथ महादेशवको पूजा पश्चात सिन्धुलीको खुर्कोट पुगेर मात्रै औपचारिक रुपमा यात्रा आरम्भ गर्नेछन् ।

पहिलो चरणमा साइकलबाट सगरमाथाको आधार शिविरसम्म साइकलबाट यात्रा गर्ने लक्ष्य राखेका रंजितको दोस्रो चरणमा सगरमाथा आरोहण गर्ने लक्ष्य समेत रहेको छ ।

यस अघि दर्जनौ स्थानमा उनले साइकलबाटै यात्रा गरि सकेका छन् । उनले २०७२ साल , भदौ २१ गते जनकपुरधाम देखि काठमाडाँको पशुपतिनाथ सम्म २५० किलोमीटरसम्मको यात्रा एक दिनमैं तय गरेका थिए । सोही वर्ष असोज ७ गते जनकपुरधामदेखि हलेसी महादेव, खोटाङसम्म साधारण साइकलले यात्रा गरिसकेका छन् ।

त्यस्तै २०७४ सालमा मुस्ताङको मुक्तिनाथ, २०७५ सालमा जनकपुरधामदेखि भारत उत्तर प्रदेशको अयोध्या हुंदै लखनऊसम्म साइकलबाट धार्मिक यात्रा, सोही वर्ष चैत महिनामा ताप्लेजुङको पाथिभराको भ्रमण साइकल यात्रा गरिसकेका छन् ।

वर्षको ११ महिना जनकपुरधामस्थित बसपार्कमा पान पसल चलाउँदै आएका रंजित एक महिना कुनै नयाँ स्थानको भ्रमणका लागि साइकल यात्रामा निस्कने गरेका छन् ।

मधेश आन्दोलन चलिरहेको बेला काठमाडौँबाट आएका एक जना साथीलाई साइकलबाटै लिन बर्दिवास पुगेको स्मरण गर्दै रंजित भन्छन् ‘म देशमा शान्ति र भाईचाराको सन्देस दिन आफूले साइकल यात्रा गर्ने गरेको छु ।’

नेपाली समाजमा तिक्तता बढिरहेको समयमा सोही तिक्ततालाई कम पार्न आफूले मधेशबाट पहल गरेको रञ्जितले सुनाए ।

rajdhanidaly.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban