

सुर्खेतको वीरेन्द्रनगरदेखि १४ किलोमिटर उत्तरमा दैलेख सदरमुकाम जाने सडक उकालो छ। कटकुवा जंगलको सडक छेउमा ठूलै भीर त छैन तर चौपाया भने त्यहाँबाट हिँड्न सक्दैनन्।
बिहीबार राति ट्रक चालकले ती गाईगोरुलाई भीरमा खसालिदिएका थिए।
वीरेन्द्रनगरको प्रवेश क्षेत्र सुब्बाकुना प्रहरी चेक पोष्टमा बिहीबार राति १२ बजेतिर आठ वटा गाईगोरु बोकेका ट्रक इन्ट्री भएको सहायक प्रहरी निरीक्षक प्रमोदसिंह ठकुरीले जानकारी दिए।
बाँकी तीन ट्रकको पनि खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी रवि रावलले बताए।
ट्रक चालकले दिएको बयानअनुसार यी गाईगोरु नेपालगञ्ज उपमहानगरपालिकाले पठाएको हो।
नेपालगञ्जका सडकमा छाडा छोडिएका गाईगोरुलाई स्थानीय काञ्जी हाउसमा राखिएको थियो।
दैलेखको श्रीस्थानका कृषकले गाई पाल्ने बताएपछि नगरपालिकाले प्रक्रिया पुर्याएर दुई सय ९१ गाईगोरु आठ ट्रकमा हालेर दैलेख पठाएको थियो।
रावलका अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेबाट गाईहरू दैलेख लैजान सिफारिस दिइएको छ।
गाई कसको जिम्मामा दैलेख पठाइएको हो भन्नेबारे अनुसन्धान भइरहेको र सिफारिसमा लेखिएको कुरा अनुसन्धान भइरहेकाले जानकारी दिन नमिल्ने रावलले बताए।
नेपालगञ्ज उपमहानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलका अनुसार गाईगोरु नगर प्रहरीको नेतृत्वमा दैलेख पठाइएको थियो।
बाटोमा गाईगोरु मर्न थालेपछि नगर प्रहरीको टोली नेपालगञ्ज फर्किएको पौडेलले बताए।
‘छाडा पशुचौपाया व्यवस्थापनका लागि दैलेखको श्रीस्थान लैजाने भनेर लिइएको हो, बीचमै गाईगोरु मरेपछि स्थानीयले थाहा पाए विरोध गर्लान् भन्ने सोचेर हाम्रो यहाँको टोली बाटोमै छोडेर फर्किएको रहेछ,’ उनले भने।
बाटोमा अरू कसैले गाईगोरु कसैले पाल्न चाहे दिने नत्र दैलेख लैजाने गरी नेपालगञ्जबाट लगिएको पौडेलले जानकारी दिए।
‘काञ्जी हाउसमा धेरै भएका गाईगोरु दैलेख, सुर्खेत, जाजरकोटलगायत पहाडमा पाल्न दिने गरेका छौं,’ उनले भने, ‘यसपटक पनि सुर्खेत उपत्यकाभन्दा माथि कसैले पाल्न चाहेमा दिने र दैलेख पुर्याउने भनेर लिइएको हो, के सोचर हाम्रो टोली फर्कियो, थाहा भएन।’
जंगलमा छोडिएकामध्ये बाँचेका गाईहरुलाई नेपालगञ्ज फिर्ता ल्याउने विषयमा छलफल भइरहेको पौडेलले जानकारी दिए।
नेपालगञ्ज उपमहानगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलसमशेर राणा मेयर छन्। हिन्दुवादी राप्रपाले आफ्नो चुनाव चिन्ह र झन्डामै गाईको तस्बिर राखेको छ।
उनै राणाको उपमहानगरबाट लिइएका गाईलाई किन निर्मम तरिकाले भीरमा फालियो?
सेतोपाटीसँग कुरा गर्दै राणाले घटनाबारे आफूलाई केही जानकारी नभएको बताए।
‘म काठमाडौं छु। गाई किन बीचमै छोडियो र भीरबाट फालियो भन्नेबारे मलाई जानकारी छैन,’ मेयर राणाले भने।
भीरमा फालिएका गाईगोरुलाई वीरेन्द्रनगर नगरपालिकाले उद्धार गरेको छ। नगरपालिकाका बरिष्ठ अधिकृत प्रकाश पौडेलले दिएको जानकारीअनुसार ती ट्रकले सुब्बाकुनाको प्रहरी चेक पोष्ट नपुग्दै ११ वटा गाई गोरु खसालेका थिए।
‘त्यहाँ खसालेका मध्ये ८ वटा मरिसकेका छन्। मरेका चौपायाको भोलि व्यवस्थापन गर्छौं,’ पौडेलले भने।
पशुपंक्षीसम्बन्धी कसुरअन्तर्गत कसैले गाई वा गोरु मार्ने वा कुनै चोट पुर्याउने नियतले कार्य गरे तीन वर्षसम्म कैद हुने कानुन छ।
यस्तै गाई वा गोरुलाई अंगभंग बनाएमा ६ महिना कैद र अन्य चोट पुर्याएमा ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था ऐनमा छ।
setopati.com





Write your Comment