बिरगञ्जमा प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै किशोरीमाथि एसिड प्रहार

रातोघर

 २० भाद्र २०७६, शुक्रबार १०:३०  मा प्रकाशित
५३३ पाठक संख्या



वीरगञ्ज ।

वीरगञ्जमा १५ वर्षीया एक किशोरीमाथि एसिड प्रहार भएको छ ।

प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्साको वीरगञ्ज महानगरपालिका वडा नं ६ गणेशमान चोकमा शुक्रवार विहान १५ वर्षीया मुस्कान खातुनमाथि एसिड प्रहार भएको हो ।

शुक्रवार विहान सवा ६ बजेतिर वीरगञ्ज महानगररपालिका वडा नम्बर २ छप्कैया बस्ने वर्ष १६ का सम्साद मिया र वर्ष १६ कै माजिद आलमले खातुनमाथि एसिड प्रहार गरेका पर्साका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले बताए । उनीहरुले प्रहार गरेको एसिडले खातुनको छाती, दाहिने गाला र हात जलेको प्रहरीले जनाएको छ ।

एसिड प्रहारमा संलग्न मियालाई प्रहरीले नियन्त्रणमा लिएको छ भने आलम फरार रहेको प्रहरीले जनाएको छ ।

आफ्नो प्रेम प्रस्ताव खातुनले अस्वीकार गरेपछि मियाले उनीमाथि एसिड प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

एसिड आक्रमणबाट घाइते खातुनलाई उपचारको लागि काठमाडौं पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

Write your Comment