बाराको डुमरवानामा जितियाको रौनक

रातोघर

 ४ आश्विन २०७६, शनिबार १७:२२  मा प्रकाशित
३८४ पाठक संख्या



बारा, ४ असोज ।

तराईका थारु समुदायका यतिबेला जितिया पर्वको व्रत बसेर धुमधामकासाथ मनाई रहेका छन् । तीनदिनसम्म मनाईने यो पर्वको उल्लास शुक्रबारबाटै तराईका जिल्लाहरुमा बढेको छ । बारा, पर्सा, सहित तराइका सबै जिल्लामा रहेका थारु समुदायका महिलाहरुले यो पर्व तीनदिन सम्म मनाउने गरेका छन् ।

यसवर्षको जितिया पर्व अन्तर्गत भोलि आइतबार अपराह्न पूजा–अर्चना र कथा सुनेपछि अन्नजल ग्रहण गर्नेछन् । ‘नहाय खाय’ अर्थात नुहाएर खाना खाएपछि यो पर्व सुरु हुन्छ । अन्य पर्वको पूर्व सन्ध्यामा चोखो खाने चलन भए पनि जितिया पर्वको पूर्व सन्ध्यामा माछा र कोदोको रोटी खाने चलन छ । जसलाई मधेसमा ‘माछमरुवा’ भनिन्छ । यस वर्षको जितिया पर्व हिजो शुक्रबारबाट शुरु भएको हो ।
व्रतको दोस्रो दिन शनिबार बिहान सूर्योदय हुनुपूर्व व्रतालु महिलाले ‘अंगुठन’ गरेका छन् । बिहान घिरौलाको पातमा च्युरा दही, केला, अमोट आदि प्रसाद चढाई सपरिवार प्रसाद ग्रहण गर्ने प्रचलन छ । पितृपक्षमा हुने यस पर्वमा व्रतालु महिलाले आ–आफ्ना स्वर्गीय आमा, सासुलगायतका महिला पितृलाई नैवेद्य चढाउने गर्दछन् ।
दुई दिनको निराहार उपवासका क्रममा व्रतालुहरूले आफ्नो मुखले सिन्कोसम्म टोक्दैनन् । भूलबस सिन्को टोकिएमा वा मुखबाट पानी समेत आएमा व्रतालु महिला आजीवन व्रत बस्न नहुने धार्मिक विश्वास रहेको छ । सन्तानको दीर्घायु तथा सुख शान्तिका लागि समेत गरिने यस पर्वको तराइमा विशेष महत्व छ ।

यसैविच शुक्रबार बाराको डुमरवानामा जितिया पर्वकै अवसरमा बाराका थारु समुदायले जितिया पर्व विशेष कार्यक्रमको आयोजना गरेका छन् । कार्यक्रममा बाराका थारु समुदायका महिलाहरुले जितिया पर्वको महत्व झल्कने विविध झाँकी तथा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रदेश नम्बर २ की प्रदेश सभा सदस्य ज्वालाकुमारी साह, जीतपुरसिमरा उपमहानगरपालिकाकी उपमेयर सरस्वती चौधरी लगायतले जितिया पर्वको महत्वबारे धारणा राखेका थिए ।

Write your Comment