उबेलाको दसैं…

रातोघर

 १४ आश्विन २०७६, मंगलवार ०८:५५  मा प्रकाशित

हर्ष र उमंगको पर्व दसैं । यसको धार्मिक, सांस्कृतिक र सामाजिक महŒव छ । टाढा रहेका र मुग्लान (परदेश)मा रहेकासमेत दसैंमा घर फर्कन्छन् । दसैं धर्म र संस्कृतिको माध्यमबाट परिवार र समाज जोड्ने सेतु पनि हो । तर, वृद्धाश्रममा रहेका वृद्धवृद्धालाई भने दसैं कागलाई बेल पाक्यो हर्ष न बिस्मात् भनेझैं भएको छ । तर, पनि वृद्धवृद्धाका मानसपटलमा सारा दुःख बिर्सिएर उत्साह र उमंगसाथ उबेला मनाइएको दसैं र गाउँघरको याद भने ताजै छ । वृद्धाश्रम आइपुग्नुका आ–आफ्नै कथा छन् उनीहरूसँग । कथा फरक भए पनि व्यथा उस्तै छ । दसैं आएपछि उत्साह र उमंग बोकेर आएजस्तो आभास हुन्थ्यो । वर्षा रोकिएपछि हिलोमैलो शून्य । खोला सुसाउँथ्यो कर्णप्रिय गीत गुनगुनाउँदै । उघ्रिन्थ्यो आकाश । त्यो बेला सारा खुसी बोकेर दसैं आएजस्तो लाग्थ्यो । बालीनाली भिœयाउने चटारोे दसैंमा सकिएको हुन्थ्यो । वृद्धवृद्धा यसरी झलझली सम्झन्छन् दसैं । दसैंसँगै जोडिन्छन्, नयाँ लुगा, चिउरा, मासु र पिङ ।

नयाँ लुगा

‘पेटभरि खाने र नयाँ लुगा लगाएर रमाउने पर्व थियो दसैं,’ उबेलाको दसैं सम्झिँदै धादिङ नौबिसेका रामराज लोहनी भन्छन् । ‘जब आमाबाबुले दौरा, कमिज वा भोटो र सुरुवाल सिलाएर ल्याइदिन्थे । त्यसै बेलादेखि सुरु हुन्थ्यो हाम्रो दसैं,’ ६ सालमा जन्मिएका लोहनी बाल्यकालतर्फ फर्किए ।
हातैले कपडा सिलाइन्थ्यो । उबेला अहिलेका जस्ता टे«लर र मेसिन कहाँ पाउनु । बाली (वर्ष दिनमा ज्यालाबापत दिइने अन्नपात वा पारिश्रमिक) लिएर कपडा सिलाउने सूचीकार हुन्थे । सूचीकार कहाँ सिलाउन पालो कुर्नुपथ्र्यो । नयाँ लुगा सिलाएर ल्याएपछि बल्ल दसैं घरमा भित्रिएजस्तो लाग्थ्यो । ‘हो, त्यसै बेलादेखि सुरु हुन्थ्यो हाम्रो पालाको दसैं,’ लोहनी भन्छन् । नयाँ लुगा लगाएर फुरुंग पर्दै पिङ र चौतारीमा भेला हुने अघोषित चलन नै थियो ।

‘नयाँ लुगा लगाएपछि मात्रै गाउँघरमा दसैं आएजस्तो हुन्थ्यो । अहिले त हङकङ र चीनबाट रेडिमेट कपडा आउन थाले । देखासिकी बढ्न थाल्यो । नयाँ लुगा लाउन दसैं नै कुर्नुपर्दैन । अहिले त रातदिनको फरकसमेत छुट्याउन गाह्रो छ,’ सिन्धुपाल्चोक हाइकुङका कृष्णबहादुर गुरुङले भने । उमेरले ८४ पार गरेका गुरुङलाई हाइकुङ गाउँ पञ्चायतबाट गाविस बनेकोे सम्झना छ । तर, अहिले गाउँपालिका÷नगरपालिका के बन्यो, पत्तो छैन । तर, हाइकुङमा मनाइएका दसैं उनको मानसपटलमा ताजै छ ।

सबैभन्दा रमाइलो त दसैंमा नयाँ लुगा लगाउन पाउँदा हुन्थ्यो । एउटा दौराले एक वर्षसम्म पु¥याउनुपथ्र्यो । बाबुआमाले छोराछोरीलाई खुसी पार्न भए पनि ऋण गरेरै नयाँ लुगा किनिदिन्थे । नयाँ लुगा जिउँमा । केटाकेटी फुरुक्क । अनि, दौडिहाल्थे गाउँभर प्रदर्शन गर्न । अहिले देखासिखी बढेको र नयाँ लुगा लगााउन दसैं नै कुर्नुपर्ने अवस्था नभएको गुरुङको पनि अनुभव छ ।
‘एक रुपैयाँले जिउभरिलाई कपडा पुग्थ्यो । त्यही पनि साहु नगरी सुखै थिएन,’ रामराज सम्झन्छन् । टालोमाथि टालो खापेर कपडा टालिएका हुन्थे । बूढाबूढीको काम नै कपडा टालेर सिलाउने हुन्थ्यो । ‘हामी त जन्मिन नि छिटो भएछ,’ कृष्ण भन्छन्, ‘त्यही टालेका कपडालाई ‘बुन्याभन्दा तुन्या बढी’ भन्ने उखान पनि त्यो बेला खुबै चल्तीमा थियो ।’

मासु

चिउरा भित्रने र कैयौंको घरमा मासु पाक्न दसैं कुर्नुपथ्र्यो । चार–पाँच सालतिरको सम्झना गर्दै कृष्ण टोलाए । त्यसबेला मासु
सस्तो थियोे ।१३–१५ मोहोरसम्ममा भेडा पाइन्थ्यो । ३०–४० रुपैयाँमा थारा भैंसी तथा राँगा । एक पैसाको मूल्य पनि धेरै थियो । ‘आमाका पालामा त पैसामा १२ वटासम्म सियो आउँथ्यो रे । त्यही सियोले फाटेका कपडा टालेर दसैंसम्म लगाउन मिल्ने बनाइन्थे,’ कृष्ण सम्झन्छन् ।
दसैंमा जस्तोसुकै गरिबको घरमा पनि मासु पाक्थ्यो । चिउरा कुटिन्थ्यो अनि नयाँ लुगा सिलाइन्थ्यो । ‘अरू समय जति दुःख परे पनि दसैं सबै दुःख बिर्सिएर उल्लासको पर्वका रूपमा मनाइन्थ्यो । पेटभरि मासु खाने पर्व दसैं नै थियो । र पो दसैं दसैं जस्तै लाग्थ्यो,’ उमेरले ८६ काटेका नुवाकोट कमारीगाउँका पुण्यबहादुर थापा भन्छन् ।

‘काम गरेर खाने ज्यामीका घरमा मासु पाक्छ, हाम्रोमा त अब पाक्दैन,’ डोल्पा दुनैका शेरबहादुर रोकाया वृद्धाश्रममा मासु नपाक्ने प्रसंग निकाल्दै भन्छन्, ‘भाले बासेपछि एक मोहोर बास्यो भन्थे । बासेको भाले एक मोहरमा किन्न पाइन्थ्यो । अहिले त वृद्धाश्रममा मासु पाक्दैन,’ कृष्णले ६ साल सम्झिए ।
उमेरले डाँडो काटेका उनीहरूसँग परिवारसँगै रहेर दसैं मनाउँदाको मीठो सम्झनादेखि परिवारसँग टाढिएर बस्नुपर्दाको चरम निराशासम्मको अनुभव छ । ‘यहाँको दसैं त खै कस्तो मान्नुपर्ने हो, थाहै छैन । १२ वर्षदेखि वृद्धाश्रममा बसियो,’ कृष्ण भन्छन् । उसो त अब दसैं मनाउनु र नमनाउनुले उनीहरूलाई कुनै फरक पार्दैन ।

पिङ

उबेला दसैंमा पिङ अनिवार्य । पिङ हालेपछि दसैंको रौनकताको उचाइ चुलिन्थ्यो । गाउँघरनजिकका चौतारी र गाउँको बीच भागमा थरीथरीका पिङ हालिन्थे । अहिले यो चलन बिस्तारै हराउँदै गएको छ । दसैंमा कसले बढी पिङ मच्चाउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । त्यतिबेला लिंगेपिङ, रोटेपिङ र जाँतेपिङ जताततै हालिएका हुन्थे । लिंगेपिङमा मच्चिएको सम्झना ताजै छ । साथीसंगीबीच कसले पिङ बढी मच्चाउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । दसैंको एक दिन भए पनि केही क्षणलाई भुइँ छाड्नुपर्छ भन्ने चलन थियो । यसले पनि पिङको महŒवलाई बढाएको थियो ।

 


‘मामाघर जाने भनेपछि हुरुक्कै भइन्थ्यो । टीका लगाएर दक्षिणा पाइने भनेकै मामाघरबाट मात्र थियो,’ कृष्णले बालापनको दसैं सुनाए । दसैंको चहलपहल सुरु भएसँगै पाखाबारीका कान्लामा रहेका बाबियो काटेर पिङ बाट्ने तयारी हुन्थ्यो । धेरैजसो दसैंमा पिङ बाट्ने र हाल्ने साक्षी उनीहरू पनि भएका थिए । ‘हिँडेर गयो भने त एक महिनामा पनि पुग्न सकिँदैन होला,’ पशुपति वृद्धाश्रमबाट शेरबहादुरले दसैं मनाएको र बाल्यकाल बिताएको डोल्पा दुनैका गाउँघर सम्झिए । अहिले परिस्थितिले वृद्धाश्रममा सीमित हुनुपरेकामा निराश हुँदै दसैं आउनु र नआउनुको कुनै फरक नभएको बताउँछन् ।
दुनैमा लिंगेपिङलाई ‘फुंगी’ भन्ने चलन छ । उनलाई फुंगीमा मच्चिएको सम्झना भने अझै छ । ‘साथीसंगीमा कसले बढी फुंगी मच्चाउने भन्ने हुन्थ्यो,’ उनले खुसी साटे । उनको अनुभवमा अहिले त दसैं फेरिएको छ । प्रत्येक दिन नै दसैंजस्तो भए । न नयाँ लुगा लगाउन दसैं चाहिन्छ न मासु र चिउरा खान नै ।

चिउरा

रातोमाटाले पोती कमेरो (सेतोमाटो) छ्यापेर घरहरू चिटिक्क पारिएका हुन्थे । दसंैका लागि गाउँघरका खेतमै फलेका धानबाट चामल र चिउरा कुटिन्थ्यो । उबेला मिल हुँदैनथ्यो । ढिकी र जाँतोमा पालैपालो गाउँभरिकाले चामल र चिउरा कुट्थे । उबेलाको चिउरा र चामलको स्वादै फरक हुने गरेको उनीहरू बताउँछन् ।
‘नेपाली हौं, नेपाली ढुंगामाटो कमाया छौं,’ डोल्पाली लवजमा शेरबहादुरले भने । उहिले र अहिलेको तुलना गर्दै खेतबारी बाँझो बन्दै गएकोमा उनी चिन्तित छन् । उनी भन्छन्, ‘अहिले चामल र चिउरा पसलबाट किन्न थाले, उबेलाको दसैंको रौनक अहिले
कहाँ पाउनु ।’

उबेला सबैतिर हरिया फाँट हुन्थे । काठमाडौं अहिलेको जस्तो थिएन, अहिले घर ठडिएका ठाउँमा धान फल्थे । ‘अब जन्मने मान्छेले त खान पाउँदैनन् कि जस्तो लाग्छ । त्यस्ता दिनमा हामी जन्मियौं, यस्ता दिनमा तपाईंहरू,’ रामराज भन्छन् । परिवारका सबैजना जम्मा भएर मनाउने पर्व थियो दसैं । वृद्धाश्रममा उनीहरू दसैं सम्झिँदै खिन्न हुन्छन् । परिवारसँगै दसैं मनाउन नपाएकोमा मन रुँदो रहेछ । उनीहरूको इच्छा कसले बुझिदिने ? भगवान्सँग के माग्नुहुन्छ भन्ने जिज्ञासामा थोते दाँत देखाएर मुस्कान छर्दै उनीहरूले भने, ‘मिल्थ्यो भने त्यही उमेर र समय माग्थ्यौं ।’

-rajdhanidaily

Write your Comment