गढीमाई मेला : यस पटक पनि मारिनेछन् हजारौँ पशुपक्षी

रातोघर

 ३ मंसिर २०७६, मंगलवार २०:२१  मा प्रकाशित

बारा ।

बाराको बरियारपुरस्थित गढीमाई मन्दिरमा हरेक ५ वर्षमा लाग्दै आएको मेलाका लागि विशेष पूजा सुरु भइसकेको छ । झुन्डाझुन्ड भक्तजनहरू त्यहाँ पुगिरहेका छन् । बारा र पर्साका होटलहरू सुरुकै दिनमा भरिएका छन् ।

लाखौं धार्मिक पर्यटक यहाँ आउने मन्दिरका पुजारी मंगल चौधरीले बताए । एक महिनासम्म लाग्ने यो मेला नेपालकै ठूला मेलामध्येको एक हो । मंसिर १७ गतेदेखि १९ गतेसम्म यस मेलामा पशुपक्षीको विशेष बलि दिने गरिन्छ ।

पहिलो पटक गढीमाईको दर्शन, पूजाआजा गरी आफ्नो भाकल पूरा गर्ने र अर्को मेलामा बलि चढाउने प्रचलन रहेको स्थानीयहरू बताउँछन् ।

देशका प्रमुख सय पर्यटकीय गन्तव्यमा परेको गढीमाईमा भारतका धेरै जनसंख्या भएका राज्यहरू बिहार, उत्तर प्रदेश, पश्चिम बंगालसहित पूरै भारतका विभिन्न क्षेत्र, बंगलादेश र भूटानबाट पनि श्रद्धालु आइपुग्छन् । नेपालका पनि सबैजसो जिल्लाबाट धर्मावलम्बीहरू यहाँ आउने गर्छन् ।

पिठ छेवैको खुला चउरमा राखिएको त्रिशूलबाट मानिसका शूलरूपी तीन ताप आध्यात्मिक, आदिदैविक र आदिभौतिक नाश हुन्छन् भन्ने जनविश्वास छ । त्रिशूल स्थापना भएको दक्षिणतिर हाल देवीको मूर्तिसहित मन्दिर रहेको छ ।

मन्दिरबाट पूर्व–दक्षिणतिर पीपलबोटसँगै रहेको ब्रह्मस्थलबाट मार्ग शुक्ल सप्तमीका दिन सरसफाइ र लिपपोत गरी गढीमाईलाई स्वागत गर्दै पाँच दिनसम्म पूजा गरिसकेपछि अन्य दर्शनार्थीहरूका लागि दर्शन खुला गरिने प्रचलन छ ।

गढीमाईको पूजाआजा गर्दा कंकालीमाई, जाखिनमाई, भक्तिमाईको पनि पूजा गरिन्छ । सँगै गढीमाईका बहिनीहरू कटबासीमाई, ककालीमाई, मनकामना, संसारी, साम्ये, राजदेवी, गढवाडा, जोरलाही, वनशक्ति आदिको पनि पूजा गरिने धार्मिक विधि रहेको मूल पुजारी चौधरीले बताए ।

विगतका मेलामा करिब १ करोड अनुमान गरिएकाेमा ८० लाख भक्तजन आउने गरेका थिए । यस पटक करोड पुग्ने चौधरीको अनुमान छ ।

मेला अवधिभर बारामा करोडौं रुपैयाँको खाद्यान्न, पानी, चुरोट, मदिरा, मासु, चिउरा, पेय पदार्थ आदिको व्यापार हुने र अत्यधिक भारतीय रुपैयाँ भित्रिने गर्छ ।

भारतीय सवारीसाधनमा समूह बनाई भारतीयहरू परिवारसहित साता दिनसम्म पूजाआजा गरी मेला हेर्ने र समूहमै खाना बनाएर खुला स्थानमा सुत्ने गर्छन् । पछिल्लो समय नेपालका विभिन्न स्थानहरूबाट पनि यस मेलाको समयमा गढीमाई मन्दिर आउने क्रम बढ्दो छ ।

बलि प्रदान कार्यक्रम

कडा तान्त्रिक र धार्मिक विधिबाट मानव रगतसहितको पञ्चबलिपछि गढिमाईमा बलि भाकल लिएर आउनेहरूका लागि बलि खुला गरिनेछ । देवीलाई दिइने पञ्चबलिमध्ये सेता २ मुसा पुजारीहरूको समूहले १७ गते वनमा गई तान्त्रिक पूजा गरिसकेपछि मुसा आफैं भेटिने र उक्त मुसासहित रातको २ बजेदेखि पूजा प्रारम्भ गरी बोका, लोकल कुखुरा भाले, सुँगुर, परेवा र मानव रगत ५ थोपा बलि दिएपछि यज्ञमा राखिएको दियो आफैं प्रज्वलित हुने गर्छ ।

दियो प्रज्ज्वलित भएपछि लगत्तै हाँसका ५ वटा अण्डा बलि दिई अण्डामै त्रिशूल गाडिन्छ अनि पाँचवटा राँगा मन्दिरकै मौलामा बलि गरेपछि बलि सबैका लागि खुला हुने प्रचलन रहिआएको छ ।

करिब २५० जनालाई बलिका लागि मार हान्न सरकार र समितिले अनुमति दिने र उनीहरूले मात्रै पशुलाई मार हान्ने अधिकार प्राप्त गर्नेछन् । पुह खोला र बालगंगा खोलाबीच मन्दिरको एक किलोमिटर वरपर धार्मिक विधिबाट तोकिएको सीमामा बलि हुने गर्छ । भाकल गरेका राँगाहरू बलिपश्चात् त्यहीँ छाडेर जाने र उक्त मासु केही समुदायले प्रसादको रूपमा घर लैजाने चलन रहेको छ ।

यस्तो छ गढीमाई स्थापनाको कथा

करिब २६५ वर्षको लामो इतिहास बोकेको गढीमाई देवीको स्थापना बारा सिम्रौनगढका तिरहुतहरूको शासनकालमा भएको मानिन्छ । कुनै समयमा थारू जातिका एक व्यक्ति मकवानपुर गढीमा बन्दीका रूपमा थुनिएका रहेछन् । उनलाई उक्त गढीमा रहेकी देवीले सपनामा आफूलाई त्यहाँबाट कतै लगेर स्थापना गर्न सल्लाह दिइछन् । ती कैदी त्यही रात जेलबाट छुटेछन् र त्यहाँकी देवीलाई बरियारपुरमा लगेर स्थापना गरेछन् । त्यसपछि गढीमाईमा तिनै व्यक्ति पुजारी बनेछन् भन्ने स्थानीयवासीहरूको धारणा छ ।

हालसम्म पनि गढीमाईमा तिनकै सन्तान पुजारी रहेको विश्वास गरिन्छ । सिम्रौनगढबाट भागेका हरिसिंह देव र उनकी रानी देवलदेवी एक रात यही गढीमाईस्थानमा बास बसेछन् । किंवदन्तीका अनुसार उनीहरूले साथमा लिएर हिँडेकी तुलजादेवीको एउटा अंश गढीमाई क्षेत्रमै छ । बारा, बरियारपुरकी गढीमाईलाई साक्षात् देवी मानिन्छ । यिनले इच्छा पूरा गर्छिन् भन्ने जनविश्वास रहेको पुजारीहरू बताउँछन् ।

स्थानीय जनश्रुतिअनुसार, कुनै बेला त्यस भेगमा रस्सागुरु नामक एक जना सिद्ध व्यक्ति रहेछन् । उनी देवीलाई प्रसन्न पारेर बाघहरूलाई आफ्नो अधीनमा लिन्थे र गोरु तथा राँगासरह अन्नपातको दाउनी गर्न प्रयोग गर्थे ।

विगतभन्दा यस वर्ष महागाढीमाई मेला व्यवस्थापन मूल समितिले मनोरंजन ठेक्का एक लाख २२ हजार, जग्गा ठेक्का ६५ लाख, गाडी पर्किङ ठेक्का ८ लाख ५ हजार रुपैयाँमा लगाएको छ । गत वर्ष राँगा ठेक्का १ करोड ६० लाख रुपैयाँमा लगाइएको थियो भने यस वर्ष मेलाको ठेक्का प्रक्रियामै छ ।

गढीमाईमा प्रत्येक ५ वर्षको पूजा एकै पटक सम्पन्न गर्ने चलन छ । त्यस अवसरमा सेतो मुसा, पाठो सुँगुर र राँगाको बलि दिइन्छ । मन्दिरका तर्फबाट पूजा गरी बलि दिएपछि मात्र भक्तहरूलाई पूजा तथा बलिका लागि अनुमति दिने चलन रहेको छ । एकै पटक सबैभन्दा बढी संख्यामा राँगाको बलि दिइने स्थान पनि गढीमाई नै हो ।

यी देवीले भक्तको मनोकांक्षा पूरा गर्ने जनविश्वास रहेकाले मेलाका अवसरमा यी माईलाई पशुबलि दिनेहरूको ठूलो भीड लाग्ने गरेको हो । यहाँ ८० प्रतिशत भारतीय बलि चढाउन आउने गर्छन् । अघिल्लो मेलामा भारतले रोक्दारोक्दै पनि १८ हजार राँगा र लाखौँ बोका, हाँस, कुखुरा बलि चढाइएको थियो ।

सक्रिय छन् बलि रोक्नेहरू

कसैले आस्थाले भगवानलाई चढाउन ल्याउने बलि रोक्न नमिल्ने र रोक्न नसक्ने मन्दिर संचालन तथा विकास समितिका अध्यक्ष रामचन्द्र साहले बताए । भक्तजनहरूमा गढीमाईको आस्था बढ्दै गएको बताउँदै उनले २६ वर्षदेखि प्रत्येक मेलामा बलि बढेको देखेको दाबी गरे ।

अघिल्लो पटकको पञ्चवर्षीय मेलामा एक करोड ५ लाखभन्दा बढी भक्तजनले गढीमाई दर्शन गरेको, २५ हजार राँगा र २० हजारभन्दा बढी बोका बलि दिइएको गढीमाई मेला व्यवस्थापन समितिको तथ्यांकले देखाएको छ ।

मूल पुजारी चौधरी भन्छन्, ‘हामीले कसैलाई बलि लिएर आऊ भन्ने होइन, आस्थाले ल्याउने गर्छन् । राँगा, बोका, सुँगुर, मुसा, हाँस, कुखुरा र परेवाको बलि दिने गरिन्छ ।’

बलि रोक्न केही अभियन्ताहरू वर्षौंदेखि कार्य गरिरहेका छन् । उनीहरूले सो क्षेत्रमा पर्चा र पम्प्लेटहरू ठाउँठाउँमा वितरण गरिरहेका छन् तर यसको प्रभाव खासै नपरेको स्थानीयवासीहरू बताउँछन् ।

प्यागोडा शैलीको मन्दिर

प्यागोडा शैलीमा निर्माण गरिएको मन्दिरभित्रको देवी मूर्ति करिब १५० वर्ष पहिले उपेन्द्रविक्रम शाहले स्थापना गरेको इतिहास रहेको छ । नेपालको अन्य मन्दिरको हिसाबले धेरै ठूलो नभए पनि आकर्षक रहेको त्यहाँ गएपछि जोकोहीले अनुभव गर्न सक्ने स्थानीयको भनाइ छ ।

मेला अवधिभर भारतका विभिन्न राज्य तथा नेपालका गरी करोडौंको संख्यामा पर्यटक एवं भक्तजन उपस्थित हुनु र पूजाअन्तर्गत विशेष दीप प्रज्ज्वलित हुनु तथा लाखौंको संख्यामा बलि दिइएको पशु रगतमा झिँगा नलाग्नु गढीमाई मेलाको थप विशेषता हो ।

सदरमुकाम कलैयाबाट ७ किमीपूर्व महागढीमाई नगरपालिका– १ बरियारपुरमा अवस्थित धार्मिक पर्यटकीय क्षेत्रमा पुग्न यातायात सुविधा प्रशस्त छन् । राजधानी काठमाडौंबाट कलैयासम्म दैनिक दिवा तथा रात्रि बस सेवा, टाटा सुमो सेवा सञ्चालनमा रहेका छन् ।

हवाई मार्गबाट सिमरा पुगी वीरगञ्ज हुँदै यहाँ सजिलै पुग्न सकिन्छ । भारतीय पर्यटकहरू रक्सौल हुँदै वीरगञ्जबाट पनि त्यहाँ पुग्ने गर्छन् ।

लाखौं भक्तजन दर्शन गर्ने र ठूलो संख्यामा पशु बलि दिइने गढीमाई मेलामा दर्शनार्थीका लागि डिलक्स शौचालय निर्माण गरिएको छ । सडक, बिजुली, बजार व्यवस्थापन, सवारी पार्किङस्थल, खानेपानी सरल सुलभ व्यवस्था गरिएको छ ।

विगतभन्दा यस वर्ष महागाढीमाई मेला व्यवस्थापन मूल समितिले मनोरंजन ठेक्का एक लाख २२ हजार, जग्गा ठेक्का ६५ लाख, गाडी पर्किङ ठेक्का ८ लाख ५ हजार रुपैयाँमा लगाएको छ । गत वर्ष राँगा ठेक्का १ करोड ६० लाख रुपैयाँमा लगाइएको थियो भने यस वर्ष मेलाको ठेक्का प्रक्रियामै छ ।

गत पञ्चवर्षीय मेलामा लाखौं भक्तजनले गाढीमाईमा चढाएको भेटीको ठेक्का ४० लाख ५० हजार रुपैयाँमा लगाइएको थियो । मेलामा चढाइएको भेटी मन्दिरका पुजारीले भोग गर्दै आएका छन् भने यस वर्ष मन्दिरमा संकलन भएको कुल भेटीमध्ये ४५ प्रतिशत पुजारीलाई दिइनेछ ।

बाँकी मन्दिरको भौतिक पूर्वाधार विकासमा खर्च गरिने गढीमाई मेला व्यवस्थापन मूल समिति महासचिव मोतीलाल कुशवाहाले जानकारी गराएका छन् । शिलापत्र डटकमका लागी जनकपुरबाट सुजितकुमार झाले खवर लेखेका छन् ।

 

Write your Comment